नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट शक्तिबीच कार्यगत एकताको खाँचो औंल्याएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिलेसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकता हुनुपर्ने बताए । उनले राष्ट्रियता संरक्षण, जनअधिकारको सवालमा वामपन्थी दलमा विचलन आएको, पूँजीवादी चिन्तन पलाएको र संसद् अवरुद्ध गरेर एमालेले गलत चरित्र प्रदर्शन गरेको टिप्पणी गरे । सो पार्टीका सम्मानित नेता खनालले त दक्षिणपन्थी प्रभावमा अन्य कम्युनिस्ट पार्टीहरू फसेको ठोकुवा गरे । उनी प्रचण्ड नेतृत्वको नेकपा माओवादीलाई पनि बाटो बिराउँदै गएको आरोप लगाउँछन् । नेपालका कम्युनिस्ट पार्टीहरूलाई फुटका तस्बिर हेर्न यति भए पुग्छ । यता नेपाल र खनालले आफ्नो पार्टी मात्र ठीक, आफ्नो गुट ठीक र आफू मात्रै सही छु भन्ने सम्झन्छन् भने उता केपी ओली, सो दलका नेताहरू पनि त्यस्तैै सम्झन्छन् । माओवादीको कुरा बेग्लै छ । जनयुद्धको भट्टीबाट आएको पार्टी, सत्ताको लगाम आफ्नो हातमा छ, सबैभन्दा ठूलो क्रान्तिकारी शक्ति आफैंलाई ठानिरहेका छन् । नेपाली कम्युनिस्टहरू जहिले मपाईंवाद र विभाजनमा रमाइरहने हुँदा टुटफुटको पर्यायवाची शब्द बनेका छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुग्यो । राणाशासनको जगजगी चलिरहेकै बेला २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको हो । राणाविरोधी अगुवाहरू पुष्पलाल श्रेष्ठ महासचिव रहेर नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठसमेतले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल महासचिव रहेको नेकपादेखि नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेकपासम्म आइपुग्दा नेपालका कम्युनिस्टहरू दर्जनौंपटक फुटिसकेका छन् । पछिल्लोपटक नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा फुटेर नेकपा बहुमत गठन भएको छ । कम्युनिस्ट नेताले फुटको औचित्य भने पुष्टि गर्न सकेका छैनन् । स्थापनादेखि आजसम्म नेपालमा कम्युनिस्टका छजना प्रधानमन्त्री भए । यहाँ कम्युनिस्टको जनमत धेरै छ । तर लगातार टुटफुट र विभाजन एवं सत्ताकेन्द्रित राजनीतिले गर्दा अब भने कम्युनिस्टप्रतिको जनभरोसा टुट्दै गएको छ ।
मुलुकमा यतिबेला ठूला÷साना १३ वटा कम्युनिस्ट पार्टी चलायमान छन् । चलाएमान नभएका, सुषुप्तरूपमा रहेका अन्य धेरै हुन सक्छन् । नेकपाको औपचारिक फुटको सुरुआत स्थापनाको १३ वर्षपछि विसं २०१९ मा भारतमा भएको तेस्रो महाधिवेशनदेखि भएको हो । फुटपछि विसं २०२३ मा पुष्पलाल समूह, डा केशरजङ्ग रायमाझी समूह र तुलसीलाल अमात्य समूहले छुट्टाछुट्टै सम्मेलन गरे । यी समूहहरूमा पनि पछि फेरि फुट्दै धेरै समूह बने । यसरी फुट्दै जाने क्रममा कैंयन समूहहरूको अस्तित्व नामेट भए । कम्युनिस्टहरू नीति सिद्धान्तको सवालमा सजिलै फुट्छन् । जुट्नुपर्दा भने एउटा अक्षरको सवालमा सहमति हुन व्याख्या र विश्लेषण चल्छ । विगतमा पार्टीभित्रको कुर्सीको सवालमा पार्टी विभाजन भए । अहिले मुलुकको सत्ताको कुर्सीको सवालमा पनि पार्टी फुट्ने गरेको छ । त्यति मात्रै होइन, निकै अप्ठ्यारो परिस्थितिमा फुट्ने कम्युनिस्ट पार्टी अति सजिलो अवसर पर्दा पनि फुट्ने गरेका छन् । कहिले अप्ठ्यारोबाट बच्नका लागि फुट, त कहिले अवसर छोप्नका लागि फुट भइरहने वाम शक्तिको निष्पक्ष मूल्याङ्कन गर्न भने अब विलम्ब गरिनुहुन्न ।