राधेश्याम पटेल, परवानीपुर, ३ जेठ/
विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलमा विद्यालय र ऐलानी जग्गा अतिक्रमणमुक्त गराउन खोज्दा प्रहरी र स्थानीयवासीबीच बुधवार तनाव सिर्जना भएको छ । गापा अध्यक्ष प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने क्रममा गाउँलेहरूले नमान्दा तनावको अवस्था सिर्जना भएको हो ।
गर्दौलमा विद्यालयको जग्गा दुई बिघा १५ धुर र गापाको ऐलानी जग्गा एक बिघा एक कट्ठा आठ धुर अतिक्रमणको चपेटामा परेको छ । सोही जग्गा खाली गराउन कार्यपालिकाको बैठकबाट ११ महीनाअघि निर्णय गर्दै सूचना पनि जारी गरिएको थियो । तर अतिक्रमण गरी घर बनाएका गाउँलेहरूले हालसम्म जग्गा खाली नगर्दा प्रशासनको सहयोग लिनुपरेको गापा अध्यक्ष तिवारीले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बिहान १० देखि दिउँसो १ बजेसम्म विभिन्न चरणमा छलफल भइरहेको र विद्यालयको पौने तीन कट्ठा जग्गा तत्काल खाली गराउन गापाको निर्देशन रहेकोले आफूहरू फिल्डमा खटिएको बताए । अवस्था सामान्य नभए बल प्रयोग गर्न सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले जानकारी गराए ।
विद्यालय र ऐलानी जग्गा अतिक्रमण गरेर घर बनाएका गाउँलेहरूले जुनसुकै अवस्थाको सामना गरेर प्रतिवादको तयारीमा रहेको गाउँलेहरूले बताएका छन् । वडा नं २ का अध्यक्ष मुक्तिनारायण राउत कुर्मीले वडा कार्यालयले हाल जग्गा खाली नगराउने निर्णय गरिसकेको र समस्या समाधानको लागि वार्ताबाट टुङ्गो लगाउने अडानमा रहेको बताएका छन् ।
आजको विवादपछि सात दिनभित्र अतिक्रमित जग्गा खाली गराउने कुरामा स्थानीय सहमत भएपछि एक साताको लागि अभियान रोकिएको गापाध्यक्ष तिवारीले बताए ।
जेठ १० गतेभित्र अतिक्रमित जग्गा खाली गराउन आफू र वडा नं १ र २ का अध्यक्षद्वय मुक्तिनाथ कुर्मी र अच्छेलाल महतोसमेतको रोहबरमा जेठ १० गतेभित्र अतिक्रमित क्षेत्र खाली गराउने र नगरे प्रचलित कानून बमोजिम गापाले खाली गराउने कुरामा लिखित सहमति भएको गापाध्यक्ष तिवारीले बताए ।