मुलुकको तराई–मधेस क्षेत्रमा भविष्यमा भूमिगत पानीको चरम अभाव हुन सक्ने देखिएको छ । हुनत हिमाल तथा पहाडी क्षेत्रहरूमा पनि पानीको मुहान सुक्ने, मुहान स्थान्तरण हुनेलगायत समस्या निम्तिएका छन् । तर तराई क्षेत्रमा यो समस्या अलि जटिलरूपमा देखिन थालेको छ । यहाँ केही वर्ष पहिलेसम्म प्रशस्त पानी आउने कलधाराहरू सुकेर थोपा पानी नआउने भइसकेको छ । कतिपय स्थानमा पहिलेभन्दा दोबर/तेबर गहिरो पाइप गाड्दा मात्रै पानी भेटिन्छ । यो क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइन्छ । यो समस्या वर्तमान कारणले सिर्जित भएको भने होइन । भूमिगत पानीको सतह तल जान थालेकोले यस्तो समस्या देखिएको हो । पानीको सतह तल जानुका विभिनन कारणहरू छन् । तराई क्षेत्रमा विगतमा घरहरू कम थिए, पानीको प्रयोग पनि थोरै हुन्थ्यो । अहिले पानीको प्रयोग बढी छ । त्यसैगरी विगतमा खेतीपातीका लागि सिंचाइ र सिंचाइ नभएको स्थानमा आकाशे पानीको भर थियो । अहिले खेतीपातीका लागि मानिसहरू भूमिगत पानीमा अत्यधिक निर्भर हुन थालेका छन् । यसको निम्ति ठूला र शक्तिशाली डिप बोरिङहरू जडान गर्ने प्रतिस्पर्धा छ । अर्कोतर्फ अव्यवस्थित शहरीकरण र वन फडानीका कारण जमीनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर सञ्चित गर्न वा पुनर्भरण गर्न सकिरहेको छैन ।
आकाशबाट परेको पानी जमीनले सोसेर भित्र भण्डारण गर्ने वा ठूला नदीबाट जमीनमा पुनर्भरण हुने पानीको अनुपातमा अहिले प्रयोग हुने पानीको मात्रा बढी छ । जमीनमुनि भण्डारण हुने पानीभन्दा त्यसको प्रयोग हुने अनुपात बढी भएपछि भूमिगत पानीको सतह घट्नु स्वाभाविक हो । त्यसबाहेक भूक्षय तथा उत्खननका कारण नदीको बहावमा परिवर्तन आउनाले पनि भूमिगत पानीको भणडरणमा न्यूनीकरण भएको हुन सक्छ । नदीको परम्परागत वा प्राकृतिक बहावमा कुनै प्रकारको विचलन आइदियो भने पानीको सतह घट्दै जान्छ । यद्यपि यसरी असर परेको क्षेत्रबारे हाम्रो मुलुकमा अध्ययन हुन बाँकी छ ।
हामीले भूमिगत पानी तान्दा कलधारा अथवा बोरिङले प्वाल बनाएको ठाउँमा भूमिगत पानी एकत्रित हुने र पम्प गर्दा बाहिर निस्कने हो । कलधारा वा बोरिङमा यसरी पानी एकत्रित हुँदा सो वरिपरि भूमिगत पानी घट्न पुग्छ । यसको निम्ति पर्याप्त पानी पुनर्भरण जरूरी हुन्छ । पुनर्भरण हुन नसके एकै क्षेत्रमा दुइवटा कलधारा वा बोरिङ चलाउँदा बाहिरिने पानीको परिमाण कम हुन्छ । चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको अत्यधिक दोहन र वन फडानीको असर पनि भूमिगत पानीको अभावसँग जोडिए हुन्छ । पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्ग बनेपछि नदीजन्य वस्तु लगायत प्राकृतिक स्रोतको अति दोहन हुनुका साथै काठ, दाउराका लागि तराईका वनहरू मासिए । विगतमा नदी खोलाहरूमा पनि खयरलगायत विभिन्न प्रजातिका जङ्गल र ढुङ्गा थिए । जसले गर्दा पानी रोकिंदै ठोकिंदै बहने हुँदा भूमिगत पानी पुनर्भरणमा सहयोग पुग्थ्यो । अहिले नदी खोलाको पानी बग्दा तीव्र गतिमा आउने भयो । कुनै अवरोध भएन र चुरेबाट भावर क्षेत्रमा माटोसँग पानी मिसिएर आउँदा बाक्लो भएर जमीनले सोस्न सकेन । खासगरी दशैं तिहारपछि र असार अघि भूमिगत पानी सुक्ने यहाँको स्थायी समस्याजस्तै भइसकेको छ । जथाभावी डिप बोरिङ नियन्त्रण, वन संरक्षण, नदीजन्य पदार्थको दोहन नियन्त्रण र भूमिगत पानी रिचार्ज तथा पुनर्भरणको अभियान जरूरी छ ।