बाघ संरक्षणमा नेपाल

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा पछिलो सात वर्षमा ३० वटा बाघ मरेको विवरण सार्वजनिक भएको छ । मृत्यु भएका उक्त बाघको सङ्ख्या सरदर वार्षिक चारवटाभन्दा बढी हो । मुलुककै पहिलो र विश्वसम्पदा सूचीमा समेत सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा यो परिमाणले बाघ मृत्यु भएको फेला पर्नु चिन्ताको विषय हो । चित्त बुझाउने विषय के छ भने यसरी मृत्यु भएका बाघहरू चोरी शिकारीको कारण नभई आन्तरिक कारणले मृत्यु भएका अधिक छन् । आपसमा जुधेर पाँचवटा, उपचारको क्रममा पाँचवटा, बिरामी भएर एउटा, अज्ञात कारणबाट पाँचवटा बाघको मृत्यु भएको छ भने र विष प्रयोगबाट तीनवटाको मात्रै मृत्यु भएको हो ।  यसरी हेर्दा चोरी शिकारी वा मानवको कारणले मृत्यु हुनेको सङ्ख्या कम देखिन्छ । योभन्दा अझ खुशीको कुरा के छ भने  चालू आर्थिक वर्षको १० महीनामा एउटा पनि बाघ मरेको छैन । यसले बाघ संरक्षणप्रति हाम्रो मुलुकले सफलता हासिल गरिरहेको थप पुष्टि भएको छ ।

मानव अतिक्रमणको असर संसारभर रह्यो । यसले करीब एक शताब्दीअघिसम्म विश्वमा एक लाखको हाराहारीमा रहेका बाघको सङ्ख्या तीन हजार दुई सयमा झर्यो । यो अवधिमा बाघका तीन उपप्रजाति त कहिल्यै नदेखिने गरी लोप भए । विशेष अभियान सञ्चालन नगर्ने हो भने बाघ विश्वबाटै लोप हुने खतरा बढेपछि सन् २०१० मा बाघ पाइने नेपाललगायत १३ वटा मुलुकका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरूले रसियाको सेन्ट पिटर्सबर्गमा ‘ग्लोबल टाइगर समिट’ आयोजना गरे । शिखर सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको सङ्ख्या दोब्बर बनाउने महत्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गर्यो । यो लक्ष्य हासिल गर्न मुख्यतः बाघको वासस्थान वृद्धि, आहारा बढाउने, बाघ–मानव द्वन्द्व व्यवस्थापन र अवैध चोरी–शिकारी तथा बाघका अङ्गको व्यापारमा नियन्त्रण गरिनु अत्यावश्यक छ भन्ने नेपालको ठहर थियो । सोहीअनुरूप अगाडि बढ्दा हाम्रो मुलुकले उल्लेखनीय सफलता हासिल गर्न सक्यो ।  सन् २०१० नेपालमा १२१ बाघ थिए, सन् २०१३ को गणनामा १९८ पुगेको थियो भने सन् २०१८ मा बाघको सङ्ख्या २३५ पुगेको थियो । सन् २०२२ को गणनामा यहाँ बाघको सङ्ख्या ३५५ पुगेको छ । यो सङ्ख्या सन् २०१० को भन्दा झन्डै तेब्बर बढी हो । यसले बाघ संरक्षणको सवालमा अध्ययन गर्न अन्य मुलुकका लागि नेपाल पाठशाला बनेको छ । जसले हाम्रो मुलुकको शाख उँचो भएको छ ।

बाघ संरक्षणका लागि सफलतासँगै चुनौतीहरू पनि छन् । मुख्य चुनौती चोरी शिकार नै हो । सन् २०१० देखि अहिलेसम्म ४८ वटा बाघको छाला बरामद भएका छन् । यसले नेपालमा बाघ चोरी शिकारको चुनौती सकिएका छैनन् भन्ने देखाउँछ, कानूनी बाधा व्यवधानहरू पनि छन् । वन्यजन्तुको अपराध नियन्त्रणमा सरोकारवाला निकायहरूको सक्रियता र समन्वयबाट अपराधीहरू पक्रन सफलता मिलिरहेको भए तापनि पक्राउ परेका अभियुक्तहरूविरुद्धको मुद्दा अनुसन्धान र अभियोजन भने उति प्रभावकारी हुन सकेको छैन । दशी प्रमाणसहित पक्राउ परेका तस्करहरूसमेत मुक्त भई पुनः सोही धन्धामा लाग्ने गरेको पाइएको छ । वन्यजन्तु अपराधका मुद्दाको अनुसन्धानको पक्ष कमजोर हुँदा कानूनी छिद्रहरू प्रयोग गरी अपराधीहरूले उन्मुक्ति पाउने र पुनः अर्को अपराधमा संलग्न हुने गरेका छन् । चोरी शिकार पूर्णरूपले नियन्त्रण हुन सके अन्य चुनौतीहरूमा समस्या खासै रहँदैन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।