नितेश कर्ण, वीरगंज, २४ वैशाख/
सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंजको राजस्व स्वात्तै घटेको छ । वैशाख महीनाको लक्ष्य पाँच अर्ब ८६ करोड ४४ लाख २५ हजार ४७७ रहेकोमा वैशाख १४ गतेसम्म एक अर्ब ४७ करोड ६३ हजार ९६४ मात्र सङ्कलन भएको छ ।
यसैगरी, आव २०७९/८० को वैशाखसम्मको लक्ष्य ५५ अर्ब २९ करोड १० लाख सात हजार ३४५ रहेकोमा वैशाख १४ सम्म ३३ अर्ब ४४ करोड ४६ लाख ६२ हजार २१५ मात्र सङ्कलन भएको छ । प्रतिशतको हिसाबले यो रकम ६०.४९ प्रतिशत रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता सन्तोष न्यौपानेले बताए ।
चालू आवमा भन्सार राजस्व सङ्कलनको लक्ष्य ६६ अर्ब ४३ करोड ८६ लाख ९४ हजार ९१८ छ । वैशाख १४ गतेसम्म सुक्खा बन्दरगाहले वार्षिक लक्ष्यको ४९.५९ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको प्रवक्ता न्यौपानेले बताए । सुक्खा बन्दरगाहले चालू आवमा लक्ष्य उठाउने सम्भावना त कमै छ, निकै कम राजस्व सङ्कलन हुने तथ्याङ्कले देखाउँछ । असार मसान्तसम्म लक्ष्यका लागि सुक्खा बन्दरगाहले ३३ अर्ब ९९ करोड ४० लाख ३२ हजार ७०२ उठाउनुपर्नेछ तर करीब १० महीनामा आधा मात्र राजस्व सङ्कलन गर्न सकेको सुक्खा बन्दरगाहले असार मसान्तसम्म लक्ष्य उठाउने सम्भावना छैन ।