पर्साका ग्रामीण किसानहरू मकैखेतीतर्फ आकर्षित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, २४ वैशाख/

पर्साका ग्रामीण किसानहरू मकैखेतीतर्फ आकर्षित भएका छन् ।

यस क्षेत्रका ठोरी, जीराभवानी र पटेर्वासुगौली गाउँपालिकामा विगतको तुलनामा मकैखेती गर्ने किसानहरू बढेका छन्, जसले गर्दा मकैखेतीको क्षेत्रफल  पनि बढेको छ । ठोरी गापा कृषि शाखा प्रमुख चन्दनभैया थारूले गापामा करीब चार सय हेक्टर जग्गामा मकैखेती गरिएको बताए । उनले किसानलाई पालिकाबाट आठ क्विन्टल हाइब्रिड जातको उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए । यसका अलावा किसान आफैंले भारतीय तथा नेपाली बजारबाट बीउ खरीद गरी मकैखेती गरेको बताए ।

जीराभवानी गापा–१ शान्तिनगरका रविमोहन सापकोटाले तोरीबाली काटेपछि खेत खाली भएकोले किसानहरूले थप एक बाली मकैखेती गर्ने गरेको बताए । मकैखेती गर्न सजिलो भएको र उत्पादन पनि राम्रो हुने भएकोले किसान मकैखेती गर्न आकर्षित भएको  सापकोटाको भनाइ छ ।

पटेर्वासुगौली गापा कृषि शाखा प्रमुख मोहन दासले पालिकाका पाँचवटै वडामा करीब ८० बिघा जमीनमा मकैखेती भएको बताए । किसानहरूको माग अनुसार ९०८१ र ३३५५ हाइब्रिड जातका मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताए ।

जीराभवानी गापाको ४० हेक्टर जग्गामा मकैखेती भएको कृषि शाखा प्रमुख क्षत्रबहादुर गुप्ताले बताए ।

कृषि ज्ञान केन्द्र, पर्साका बाली विकास अधिकृत सुरेश चौरसियाले विगतको तुलनामा यस वर्ष वसन्ते मकैखेती बढी भएको बताए । यस बालीबाट किसानले राम्रो मुनाफा कमाउन सक्ने उनको भनाइ छ । किसानले प्रतिकट्ठा तीनदेखि चार क्विन्टल मकै उत्पादन गर्न सक्ने र अहिले मकैको बजार भाउ रु तीन हजार पाँच सय प्रतिक्विन्टल रहेको अधिकृत चौरसियाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।