जल, जमीन, जङ्गल र जडीबुटी नेपालका मौलिक चिनारी हुन् । उक्त चार क्षेत्रमध्ये अन्य तीन क्षेत्रसँग चौथो पक्ष जडीबुटीको नङ–मासुझैं सम्बन्ध छ । देशको कुल भूभागको ४० दशमलव चार प्रतिशत वन र चार दशमलव चार प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल क्षेत्रको ४४ दशमलव सात प्रतिशत क्षेत्र वनले ओगटेको छ । जडीबुटी उन्पादनका लागि वन क्षेत्र वरदान हो । त्यसैगरी, आबादी क्षेत्रहरूमा जहाँ जल सिंचाइको व्यवस्था छ, त्यहाँ चाहेजस्तो जडीबुटी खेती गर्न सकिन्छ । हिमाली, पहाडी क्षेत्र प्राकृतिकरूपमा नै बहुमूल्य जडीबुटीको भण्डार हो । नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश भएकोले पनि संसारका प्रायः सबै किसिमका जडीबुडी यहाँ हुर्कन सक्छन् । विविधतायुक्त भूबनोट, हावापानी र जैविक विविधताका दृष्टिकोणले हामी धनी छौं । यहाँ करीब दुई हजार तीन सयभन्दा बढी प्रजातिका जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिहरू भएको अध्ययनले देखाएको छ । सोमध्ये करीब ८१९ प्रजातिका वनस्पतिहरू जडीबुटीका रूपमा प्रयोग गर्न सकिन्छ, सोमध्ये हालसम्म करीब १६५ प्रजातिका जडीबुटी मात्रै व्यापारिक प्रयोजनमा आएका छन् । जडीबुटीको माग विश्वव्यापीरूपमा बढ्दो छ ।
जडीबुटीको व्यावसायिक उत्पादनतर्फ केही प्रयासहरू नभएका होइनन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि जडीबुटी खेती तथा जडीबुटीबारे सचेतना सम्बन्धमा योजनाहरू सञ्चालन गरिरहेका छन् । तर त्यो लक्ष्यमा पुग्ने नभई औपचारिकतामा मात्रै सीमित देखिएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नामले चिनिएको कारण पनि हाम्रो मुलुकको जडीबुटीलाई विश्व बजारमा अति महत्वका साथ लिने गरिएको छ । मुलुकमा उत्पादित जडीबुटीको मुख्य बजार छिमेकी मुलुक भारत र चीन हो । हाम्रा सामुदायिक वनमा उत्पादित जडीबुटी केही वर्ष पहिलेसम्म युरोपेली मुलुकमा समेत निर्यात हुन्थ्यो । तर अहिले करीब ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी छिमकी मुलुक भारत निर्यात हुन सकेको छैन । भारतीय प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएको भन्दै लामो समयदेखि भारतले व्यवधान खडा गरेको छ ।
अर्कोतर्फ जडीबुटीको धनी मुलुक भएर पनि हामी आफैं जडीबुटीमा आत्मनिर्भर बन्न सकेका छैनौं । नेपालमा बर्सेनि ११ अर्ब रुपैयाँभन्दा बढीको जडीबुटी आयात हुन्छ । यहाँबाट भने करीब डेढ अर्ब रुपैयाँको जडीबुटी निर्यात हुने गरेको छ । हिमाली भेगमा हुने जडीबुटी मात्रै निर्यात भइरहेका छन् । उष्ण हावापानीमा उत्पादन हुने प्रजातिका जडीबुटी सबै आयात गरिरहेका छौं । यसबाट दुईवटा तथ्य प्रस्ट हुन्छ, पहिलो, अन्य मुलुकले उनीहरूसँग कम रहेको दुर्लभ हिमाली जडीबुटी मात्रै हामीबाट लिइरहेका छन् । उष्ण प्रदेशमा हुन सक्ने प्रजाति उनीहरू आफैं उत्पादन गरी हाम्रो उत्पादनलाई निरुत्साहित गरिरहेका छन् । दोस्रो, हामी परनिर्भतामा डुब्यौं । आफ्नो उत्पादन विदेश गए मात्रै सफल ठान्ने, अन्यथा आफूले उत्पादन गर्न सक्ने जडीबुटीसमेत विदेशबाट आयात गरेर खाने । यो निकम्मापनको पराकाष्ठा हो । हाम्रो उत्पादन हाम्रै मुलुकमा प्रशोधन गरेर हाम्रै बजारमा लाने हो भने पनि मुलुकलाई ११ अर्बभन्दा बढी वार्षिक व्यापार घाटा न्यून हुन्छ । त्यसले दिने स्वरोजगार र स्वस्थ जीवनको फाइदा अलग्गै छ । यसको लागि सरकार र नागरिक दुवै पक्षको चेत खुल्नुपर्छ ।