विद्यार्थी सङ्गठनद्वारा क्याम्पसमा तालाबन्दी, नाराबाजी, ठाराब क्याम्पसको स्ववियु निर्वाचन समयमा हुनेमा अन्योल

प्रस, वीरगंज, ३० फागुन/

ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर दैनिक विवाद बढ्दो छ ।

यही चैत ५ गते देशभरिका क्याम्पसमा स्ववियु निर्वाचनको मिति तय भएपछि पछिल्लो विकसित घटनाक्रमपछि ठाकुर राम बहुमुखी क्याम्पसको निर्वाचन  समितिले हिजो मात्रै तीन दिन म्याद बढाएको थियो ।

चैत ८ गते घोषित  निर्वाचन पनि मङ्गलवार विकसित घटनाक्रमले अन्योलमा पर्ने सङ्केत देखिएको छ ।

आज संयुक्त विद्यार्थी सङ्गठन ठाराब क्याम्पसले तालाबन्दी गर्नुका साथै हिजो निर्वाचन समितिले जारी गरेको मतदाता नामावलीमा आपत्ति जनाएको छ ।

संयुक्त विद्यार्थी सङ्गठनमा आबद्ध पाँचवटा विद्यार्थी समूहले फोटोसहितको मतदाता नामावली प्रकाशनको माग गरेका छन् ।

निर्वाचन समितिले हिजो छानबीन समितिले बुझाएको प्रतिवेदन अनुसार नौ हजार ७०० विद्यार्थीको नाम प्रकाशन गरेको थियो । यसअघि निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा १० हजार २२५ जनाको नाम थियो । विद्यार्थी सङ्गठनले सोमा आपत्ति जनाएर क्याम्पसमा आगजनी गरेपछि छानबीन समिति बनेको थियो ।

यसैगरी, संयुक्त विद्यार्थी सङ्गठन ठाराब क्याम्पसले आज तालाबन्दी गर्दै जारी गरेको विज्ञप्तिमा अन्तिम नामावलीमा रहेका सबै विद्यार्थी परिचयपत्रका आधारमा मात्र मतदानमा सहभागी हुन पाउने प्रावधान लागू गर्न माग गरेको छ ।

आज उनीहरूले क्याम्पसमा प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । क्याम्पसमा विद्यार्थीहरूले तनाव सिर्जना गरेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । क्याम्पस स्रोतका अनुसार फागुन १७ गतेसम्म गरिएको भर्नाबाट नौ हजार ७०० विद्यार्थी घोषित भएपनि उनीहरूमध्ये आधाको पनि परिचयपत्र बनिसकेको छैन । भर्ना भएका विद्यार्थीहरूले परिचयपत्र र पुस्तकालयको परिचयपत्रका लागि आवेदन भरेको खण्डमा मात्र उनीहरूलाई सो परिचयपत्र उपलब्ध हुन्छ ।

अहिले फोटोसहितको मतदाता नामावली र परिचयपत्रको कुरा उठान गरेर विद्यार्थी सङ्गठनहरू  आन्दोलनमा उत्रिएपछि ठाराब क्याम्पसमा चैत ८ गते पनि स्ववियु निर्वाचन हुने कुरामा आशङ्का बढेको जानकारहरू बताउँछन् । देशभर स्ववियुको निर्वाचन १४ वर्षपछि हुन गइरहेको छ ।