वीउवासङ्घको पहिलो बैठकबाट पदाधिकारी चयन, अध्यक्ष अनिल पटवारी, प्रथम उपाध्यक्ष हरि गौतम

प्रस, वीरगंज, ३० फागुन/

वीरगंज उद्योग वाणिज्य सङ्घको कार्यकारिणी सदस्यहरूको मङ्गलवार बसेको पहिलो बैठकले अध्यक्षसहित पदाधिकारीहरूको चयन गरेको छ ।

सङ्घको ४७औं साधारणसभाले ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

हिजो हुने भनिएको निर्वाचन सोअघि नै सर्वसम्मत भएपछि आज कार्यकारिणी सदस्यहरूको बैठक बसेको हो । विधानतः सङ्घको पहिलो बैठकले अध्यक्षसहितको पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

सोहीअनुरूप आज बसेको बैठकले विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप अनिल अग्रवाल (पटवारी)लाई अध्यक्ष घोषित गरेको छ ।

यसैगरी, सर्वसम्मत प्रथम उपाध्यक्ष हरिप्रसाद गौतम, द्वितीय उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजीप्रसाद कलवार, सचिवद्वय सुशान्त चाचान र प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष अनोज रूँगटा र सहसचिवद्वयमा नीरज अग्रवाल तथा नरेश टिबडेवाललाई चयन गरिएको छ ।

तृतीय उपाध्यक्षमा भने सहमति बनिनसकेकोले अहिले पदाधिकारीको नाम घोषणा हुन सकेको छैन ।