प्रस, वीरगंज, ८ फागुन/
बहुविवाहको कसूरमा प्रहरीले सोमवार बिहान विवाहस्थलबाट पक्राउ गरेको बेहुलालाई राजनीति दबाबमा मुद्दा नचलाइ छाडेको छ ।
पत्नी हुँदाहुँदै अर्का एक केटीसँग विवाह गर्न लाग्दा पर्सा प्रहरीले विवाहस्थलबाट बहुदरमाई नगरपालिका–१ विश्रामपुर निवासी अतावद्दीन देवानलाई पक्राउ गरेको थियो ।
देवानले घरमा पत्नी हुँदाहुँदै वीरगंज महानगर, लालपर्सा, प्रसोतीपुर निवासी एकजना केटीसँग विवाह गर्न लाग्दा प्रहरीले विवाहस्थलबाट देवानलाई पक्राउ गरेको थियो । देवानले पहिलो पत्नी अपाङ्ग भएको भन्दै ढाँटेर अर्को बिहे गर्न लागेका थिए । सोबारेमा पहिलो पत्नीले प्रहरीमा उजूरी दिएपछि उनलाई पक्राउ गरिएको हो । देवानको विवाह चार वर्षअघि भारत, नरकटियागंजमा भएको थियो । पहिलो विवाहबाट उनको एउटा सन्तान पनि छ ।
आज बिहान दोस्रो विवाह गर्न लागेका देवानलाई विवाहस्थलबाट प्रहरीले पक्राउ गरेपछि जन्तेहरू भागाभाग भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनले बहुविवाहमा मुद्दा चलाउने बताए पनि दिउँसो उनलाई राजनीतिक दबाबमा छाडिएको छ । देवानलाई वडाध्यक्षको जिम्मा लगाएर छाडिएको प्रवक्ता गिरीले बताए । प्रवक्ता गिरीले देवानलाई छाडेसँगै प्रतिक्रिया फेरेका छन् । उनले बहुविवाहको पुष्टि नभएको र अर्को विवाह पनि गर्न नसक्ने भन्दै वडाध्यक्षको जिम्मा लगाएको भनी पहिलो बयान फेरेका छन् ।
पहिलो पत्नीका भाइ सौकत अलिले दिदीले लिखित उजूरी दिएपछि प्रहरीले विवाहस्थलबाट अभियुक्तलाई पक्राउ गरेको यथेष्ट प्रमाण हुँदाहुँदै छाडिनुको कारण आफूले नबुझेको बताए ।