सुक्खा बन्दरगाहले छ महीनामा १९ अर्ब ८२ करोड राजस्व उठायो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, ८ फागुन/

सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवको छ महीनामा १९ अर्ब ८२ करोड १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

सुक्खा बन्दरगाहका सूचना अधिकृत सन्तोष न्यौपानेले आयातबाट १९ अर्ब ८२ करोड २३ लाख ४७ हजार र निर्यातबाट छ लाख ९२ हजार गरी १९ अर्ब ८२ करोड १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको जनाएका छन् । उनले आव २०७७/७८ मा ५२ अर्ब चार करोड ९९ लाख राजस्व सङ्कलन लक्ष्य रहेकोमा ४९ अर्ब ४३ करोड ६५ लाख राजस्व सङ्कलन भएको र लक्ष्यको ९५ प्रतिशत पूरा भएको र पाँच प्रतिशत राजस्व कम असुली भएको बताए ।

उनले आव २०७७/७८ को तुलनामा भने आव २०७८/७९ मा छ अर्ब ९० करोड बढी राजस्व सङ्कलन भएको जनाएका छन् । रेलमा आधारित नेपालको एकमात्र सुक्खा बन्दरगाहमा अहिले तोरी युक्रेन, अस्टे«लिया, माल्डोवा, क्यानडाबाट आयात हुन्छ भने स्पन्ज, आइरन, वायर रड, इनक्वाल, फलामको बिलेट भारतबाट आयात हुने गरेको बताए । 

यसैगरी, मदिरा युके, स्वीडेन, आयरल्यान्ड, स्पेन, ब्रजील, फ्रान्स, युएईबाट आयात हुन्छ भने काइनेटिक फेब्रिक चीन, कोरिया, थाइल्यान्डबाट आयात हुन्छ ।

चिनी भारत, युकेबाट र पिना, कुखुराको दाना भारत, अमेरिका, क्यानडा, मलेशिया, सवारीसाधन चीन, जापान, मलेशिया, कोरिया, थाइल्यान्ड र दाल क्यानडा र अस्टे«लियाबाट आयात हुने सो कार्यालयले जनाएको छ ।

नेपालबाट पोलिस्टर धागो, पास्ता, चाउचाउ, अचार, च्युरा, मसला, मदिरा (बियर, भोडका, ह्वीस्की), हैन्डीक्राफ्ट, रेडिमेड गार्मेन्ट, पेन्टेड फ्ल्याग रोल युएस, अस्टे«लिया, टर्की, युके, जापान, इन्डोनेशिया, युएई र इटलीमा निर्यात हुने गरेको सो कार्यालयले जनाएको छ ।

सुक्खा बन्दरगाह कार्यालयले भारतको विशाखापट्टनम र कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका मालवस्तु आयात हुने गरेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।