उपभोक्ता समितिको सूचनाबोर्ड ईरिक्शामा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ८ फागुन/

उपभोक्ता समितिको सूचनाबोर्ड ईरिक्शामा फेला परेको छ । उपभोक्ता समितिले यस्तो सूचनाबोर्ड कार्यस्थलमा झुन्ड्याउनुपर्ने हो तर पर्साको जीराभवानी मेलामा ईरिक्शामा यो सूचनाबोर्ड देखिएको छ ।

मधेस प्रदेश सरकार अन्तर्गत योजनाको काम वीरगंज महानगरको राधेमाईमा भइरहेको र यो सूचनाबोर्ड सो ठाउँमा उपभोक्ता समितिले झुन्ड्याउनुपर्नेमा ईरिक्शामा फेला परेको छ । मधेस प्रदेश सरकारको पूर्वाधार कार्यालय वीरगंजबाट सञ्चालित पर्सा क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्यको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा वीरगंज–१३ पद्मरोडदेखि उत्तर अवध यादवको घर हुँदै सडक निर्माणको कार्य भइरहेको र सोको बोर्ड उक्त स्थानमा राख्नुपर्नेमा ईरिक्शामा राखेर चारैतिर घुमाउने काम भइरहेको छ ।

राधेमाई ढाठ उपभोक्ता समितिसँग मधेस प्रदेश सरकारले २५ लाख ५९ हजार ५२४ रुपैयाँमा २०७९/७/१८ गते सम्झौता गरेको थियो भने यो कार्य सम्पन्न गर्ने मिति चैत ३० गते उल्लेख छ । ईरिक्शामा सूचना झुन्डिनुको पनि तथ्य रमाइलो छ । उपभोक्ता समितिको जिम्मेवारी पाएका व्यक्तिले वीरगंजको फ्ल्याक्स बोर्ड बनाउने ठाउँमा दुई महीना अगाडि प्रिन्ट गराएका थिए । फ्ल्याक्सबोर्ड बनाउने कर्मचारीले भने ग्राहकले फ्ल्याक्स बोर्ड बनाएको र फोटो खिंचेर सो फ्ल्याक्स बोर्ड त्यही छाडेर गएको बताए । उनले चिनजानको ईरिक्शा चालकले पर्दा च्यातिएको भनेर प्रयोगको लागि मागेपछि दिएको बताए ।

उपभोक्ता समितिका अध्यक्ष हुसेनले भने सो फ्ल्याक्स बोर्ड कसरी ईरिक्शामा झुन्ड्याइएकोबारे आफूलाई थाहा नभएको बताए । उनले निर्माणस्थलमा धेरैजना चोर भएको र निर्माण सामग्री पनि चोरी भइरहेको भन्दै फ्ल्याक्सबोर्ड पनि उनीहरूले चोरेको र ईरिक्शामा प्रयोग भएको प्रतिक्रिया दिएका छन् ।

घटनास्थलमा स्थानीयहरूले उपभोक्ता समितिमार्फत भइरहेको कामको आलोचना गरे । उनीहरूले उपभोक्ता समितिले सरोकारवालाहरूसँग सहकार्य नगरेको र आफूखुशी निर्माण कार्य गरिरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।