संसारभरिका स्वास्थ्य विज्ञले सदैव गर्भवती महिलालाई अल्कोहल नपिउन सल्लाह दिन्छन् । यसको कारण रक्सीले बच्चामाथि नराम्रो असर पुर्याउँछ । हालै नेदरल्यान्डको इरासमस मेडिकल सेन्टरका वैज्ञानिकले यस विषयमा अनुसन्धान गरेका छन् । अनुसन्धानमा एक सातामा केवल एक गिलास वाइन पिउँदा बच्चाको अनुहारमा परमानेन्ट बदलाव हुन सक्ने जनाइएको छ ।
शोधमा वैज्ञानिकले ५६०० स्कूल बालबालिकाको अनुहारको दुई सय विशेषतामाथि अध्ययन गरे । यस्तो थ्रीडी इमेजिङ र डीप लर्निङ एल्गोरिदमको सहाराबाट सम्भव भयो । यी बच्चाहरूमध्ये केहीका आमाले गर्भावस्थाको दौरान अल्कोहल सेवन गरेका थिए, भने केहीले रक्सी पिएका थिएनन् । अनुसन्धान अनुसार एक सातामा केवल १२ ग्राम अल्कोहल पिउनाले बच्चाको अनुहार स्थायीरूपले बदलिएको बताइन्छ ।
अनुसन्धानकर्ताले विश्लेषण गर्दा गर्भ धारणपछि थोरै रक्सीबाट बच्चाको अनुहारमा थुप्रै परिवर्तन देखिएको छ । त्यसमा छोटो नाक, आँखाको तल खाल्डो र चिउँडो बाहिर निस्केको देखियो । गर्भवती महिला जति बढी रक्सी सेवन गर्छन् बच्चामा यो बदलाव त्यतिकै गहिरो हुन्छ । यस्तो विशेषगरी त्यस्ता आमासँग हुन्छ, जो गर्भावस्थाको दौरान र त्यसभन्दा तीन महीना पहिलेदेखि रक्सी सेवन गरेका हुन्थे । गर्भावस्थामा अल्कोहल सेवनबाट बच्चामा फिटल अल्कोहल स्पेक्ट्रम डिसअर्डर हुने आशङ्का हुन्छ । यसबाट बच्चाको अनुहारको साथसाथै दिमागमाथि पनि असर पर्छ । बच्चा मानसिकरूपले कमजोर हुन सक्छ । उनीहरूको व्यवहारमा पनि समस्या हुन सक्छ । यसैले महिलाले गर्भमा हुर्किरहेको बच्चाको सुरक्षाको लागि रक्सीबाट टाढा रहन भनिएको छ ।
यसभन्दा पहिले भएको अनुसन्धानमा गर्भवतीमा, हरेक हप्ता ७० ग्राम रक्सीबाट बच्चामा हुने प्रभावबारे अध्ययन गरिएको थियो । त्यसमा पनि यस्तै नतीजा पाइएको थियो । स्वास्थ्य विज्ञको भनाइ छ रक्सीको कुनै पनि मात्रा भ्रूण र बच्चाको लागि हानिकारक हुन्छ ।