प्रस, परवानीपुर, २२ माघ/
वीरगंज–पथलैया राजमार्ग क्षेत्रमा गुड्ने यातायात व्यवसायीहरूको समूहले आइतवार पर्साको प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।
हलुका सवारीसाधन ईरिक्शा र अटो अवैधरूपमा सो क्षेत्रमा सञ्चालन भएपछि उनीहरूको व्यवसायमा मर्का परेको भन्दै रूट परमिटको आधारमा सवारीसाधन सञ्चालन गर्न गराउन यातायात तथा प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने माग राख्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । सो रूटमा चल्ने म्याजिक भ्यान र अन्य सवारीसाधनका गरी चारवटा यातायात व्यवसायी सङ्घले संयुक्तरूपमा ज्ञापनपत्र दिएका हुन् ।
सङ्घर्ष समितिका अध्यक्ष कलामुद्दीन मियाँ अन्सारी नेतृत्वको यातायात व्यवसायीहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, यातायात व्यवस्था कार्यालय वीरगंज, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको हो ।
वीरगंजमा करीब पाँच हजारभन्दा बढी ईरिक्शा सञ्चालनमा आएपछि आफूहरूको व्यवसाय खोसिएको र हाल बैंकको किस्ता पनि तिर्न नसकिएको व्यवसायीहरूको भनाइ छ ।