प्रस, सेढवा, २१ असार/
शहरी विकास तथा भवन कार्यालय, पर्साका एकजना कर्मचारीलाई निजकै कार्यकक्षबाट प्रहरीले घूसको रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं २४ स्थायी घर भई सो कार्यालयका नायबसुब्बा सबइन्जिनीयरका रूपमा कार्यरत रूपेशकुमार दुबे रहेका छन् ।
डिभिजन वन कार्यालय, पर्साको चालू आर्थिक वर्षको योजना अन्तर्गत सबडिभिजन वन कार्यालय वसन्तपुर र मनवाको भवन निर्माण कार्य सम्पन्न भई सोको मूल्याङ्कन तथा बीजक बनाउन दुबेले दश प्रतिशत घूस माग गरेकोमा पीडित निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइ दुबेलाई रकम दिएका थिए ।
दुबेले काम नै नगरी पैसा ब्यागमा राखी पठाउने बेला व्यवसायीले ब्याग खोसी दुबेको कार्यकक्षमा ल्याई जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए ।
केहीबेरमा वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोलीले दुबेलाई घूसको रकमसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको छ ।