प्रस, पर्सागढी, ७ चैत/
गर्मी मौसम शुरू भएसँगै पर्साको ग्रामीण भेगमा रूखको फल ताडीप्रति आकर्षण बढ्दो छ ।
बर्सेनि गर्मीयाम शुरू भएसँगै ग्रामीण भेगमा ताडी पारखीहरू आउने गर्छन् । दैनिक बिहान र साँझपख ताडको रूखबाट ताडी निकालिने गरिन्छ ।
बिहान निकालिएको ताडी साँझको तुलनामा अलि गुलियो हुन्छ र बिहानको ताडी प्रायः सबैजसोले निर्धक्क पिउने गर्छन् । साँझ निकालिने ताडी दिउँसो घामको कारण तातो भएर अलिअलि टर्राे हुन्छ र यसबेलाको ताडी बिहानको तुलनामा अलिअलि नशा दिने हुन्छ ।
यसै कारण बिहान निकालिएको ताडीभन्दा साँझको ताडीको माग बढी छ । घरपरिवारका लागि बिहानको र नशाको चाहना राख्नेहरूको लागि साँझपखको ताडी उत्तम मानिन्छ ।
पछिल्लो समय ताडी जम्मा हुने माटोको घैलामा पहिलेदेखि नै नशा दिने पदार्थ राखेर ताडी जम्मा गर्ने गरिएको पारखीहरूको आरोप छ । सो ताडी सेवन गरेपछि मदिरासेवन गरे सरह नशा दिने भएकोले यसमा नशालु पदार्थ मिसाउने गरिएको आरोप लाग्ने गरेको छ ।
शहरी क्षेत्रमा ताडी दुर्लभ भएपनि पर्साको सखुवाप्रसौनी, पटेर्वासुगौली गाउँपालिका, बहुदरमाई नगरपालिका र वीरगंज महानगरपालिका–२६ अठराहा सुगौली, हरपतगंजमा ताडी पाइन्छ । शुद्ध ताडीसेवनबाट पेट ठण्डा हुने र अन्य फाइदा पनि हुने गरेकाले ग्रामीण क्षेत्रमा मौसमी रस खानेहरूको सङ्ख्या बढिरहेको छ ।