प्रस, परवानीपुर, २० कात्तिक/
जिल्ला प्रहरी कार्यालय बाराले गत असोज ३० गते ६५औं प्रहरी दिवसको अवसरमा हाडनाता करणी घटनाको अनुसन्धानमा चुकेका प्रहरी निरीक्षकलाई १ हजार नगद र कदरपत्रसहित सम्मानित गरेको थियो।
इलाका प्रहरी कार्यालय, प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक ओमप्रकाश यादव सम्मानित भएका थिए। उनी जिल्लामा उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालबाट सम्मानित भएका थिए।
बारा, प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी २२ वर्षीया विवाहित महिलालाई देवर रमेश साहले हाडनाता करणी गरेको घटनाको अनुसन्धानमा प्रनि यादव चुकेका हुन्।
पीडित महिलातर्फबाट माइती पक्षले इप्रका प्रसौनीमा उजूरी दिंदा पनि प्रनि यादवले ध्यान नदिएपछि जिल्ला प्रहरी कार्यालय बारामा हाडनाता करणी मुद्दा दर्ता गराइएको थियो। पीडक रमेश साहले आफ्नै भाउजूलाई पटकपटक हाडनाता करणी गर्दै आएका थिए भने अन्तिमपटक गत भदौ २६ गते हाडनाता करणी गर्दा घरमा विवाद भएको थियो। घरपरिवारका सदस्यले पीडित महिलालाई साथ नदिएपछि महिलाले माइतीलाई गुहारेकी थिइन्। माइती पक्षले इप्रका प्रसौनीमा घटनाबारे उजूरी गरेपछि इप्रका प्रसौनीमा पञ्चायती बसाएर पीडित र पीडक पक्षबीच मौखिक मिलापत्र गराइएको पीडित पक्षको भनाइ छ।
पीडित महिलालाई घरमा ससुरालगायत अन्य सदस्यले कुटपिट तथा दुव्र्यवहार गर्ने गरेको भन्दा पनि
घटनाको गहिराइमा गएर अनुसन्धान हुन नसक्दा महिलाले न्याय पाउन सकेकी थिइनन्।
महिलाले माइती पक्षलाई हाडनाता करणीबारे बेलिविस्तारले बताएपछि माइती पक्षले जिल्ला प्रहरी कार्यालय, बारामा उजूरी दिएको थियो। उक्त घटनामा प्रनि यादवले पीडित महिला पक्ष र पीडक रमेश साह पक्षलाई सम्झाइबुझाइ घर पठाइदिएका थिए।
जिल्ला प्रहरी कार्यालयमा हाडनाताको किटानी जाहेरी असोज २१ गते दर्ता भएपछि जिल्लाले अनुसन्धान तीव्र गरेको थियो। प्रहरीले तत्कालै पीडित महिलाको १९ वर्षीय देवर रमेश साहलाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गर्दा अदालतले पुर्पक्षको लागि कात्तिक २८ गतेसम्म थुनामा राख्न आदेश दिएको थियो।
यस विषयमा प्रनि यादवसँग बुझ्दा शुरूमा करणीको घटना प्रकाशमा नआई कुटपिटको घटना आएकोले आफूले सम्झाइबुझाइ पठाएको स्वीकार गरे। यता, बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रलाई अनुसन्धानमा चुकेका प्रनि यादवलाई उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार दिएकोबारे सोध्दा उनले सो घटना शुरूमा सामान्य कुटपिटको रूपमा आएको र पछि पीडित महिलाको माइती पक्षले हाडनाता करणी घटनाबारे उजूरी दिएपछि मुद्दा दर्ता गरी जिल्लाबाट आवश्यक कारबाई अघि बढेको स्पष्ट पारे।
हाडनाता करणी मुद्दा छिनोफानो हुन करीब ३ महीना लाग्ने र यस मुद्दामा जबरजस्ती र हाडनाता करणी दुवैको सजाय जोडेर ४ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको प्रनाउ मिश्रले बताए।