मनसुन ढिलो बाहिरिने, शनिवारसम्म देशभर वर्षा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

 काठमाडौं, ७ असोज/रासस
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिवारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकोले अझै शनिवारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो। यस वर्ष मनसुन औसत समयभन्दा एक साता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ।
    अहिलेको अवस्था हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकोले मनसुनी गतिविधि अझै तीन/चार दिन बढ्न सक्ने बताइएको छ। “शनिवारसम्म घाम लाग्ने सम्भावना कमै छ” –मौसमविद् कँडेलले भनिन्। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुर्ई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।