मनसुन सकिने समयमा थप सक्रिय

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, ६ असोज/रासस
    केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो। त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए। त्यसैको प्रभाव दुर्ई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एक्कासि बिलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो। सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ। यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् बुधवार हो, तर आजदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ। यसले अझै केही दिन मनसुन लम्बिने पक्का भएको छ। मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन्।
    मौसमविद् मीनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने जानकारी गराए। मध्य र पूर्वमा अहिले पूर्ण बदली छ। राति अझै वर्षा हुने क्रम बढ्नेछ। अहिले सुदूरपश्चिममा भने अलि कम बदली रहे पनि रातिदेखि भने बढ्नेछ र केही स्थानमा वर्षा हुने जनाइएको छ। “देशका धेरैजसो स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ, यो क्रम तीन दिनसम्म नै रहन्छ। कतिपय स्थानमा झरी नै पर्छ,” अर्यालले भने।
    न्यून चापीय क्षेत्र बिस्तारै उत्तर–पश्चिम आउँदैछ। यसरी आउनु भनेको नेपालको मौसम बदलीमा सहयोग गर्नु हो। अहिले पश्चिमतिर अलि माथि आउने र त्यसपछि मध्यपूर्वतिर सर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। न्यून चापीय रेखा नेपालनजीक आउँदा भारी वर्षाको सम्भावना हुन्छ।  
    विगतमा तीन/चार दिन नेपालमा राम्रो घाम लागेको थियो। छिटफुटबाहेक मौसम बदली थिएन। यो बेला भारतमा उच्च चापीय क्षेत्र बनिसकेको थियो। त्यो सर्दै नेपाल आउँदा अब बिस्तारै यसपालिको मनसुन हट्ने विश्लेषण मौसमविद्ले गरिसकेको तर भारतमा बनेको त्यो उच्च चापीय क्षेत्र त्यहीं बिलाएर गयो र न्यून चापीय क्षेत्र बन्न पुग्यो। त्यसपछि फेरि मनसुन सक्रिय हुन थालेको हो।
    मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन सकेको छैन। त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ। अहिले पूर्व र मध्य क्षेत्रमा रहेको मनसुनी प्रभाव बुधवारदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ। त्यस क्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिने र बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा भारी वर्षा गराउनेछ।
    यसपालि औसतभन्दा बढी नै वर्षा भइसकेकोले जमीन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने हुँदा उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन्। यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ। वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २४० प्रतिशत पानी परेकोले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ।
यस्तो छ मनसुनको ताजा अवस्था
    हाल उत्तरपूर्व बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। उक्त न्यून चापीय क्षेत्र पश्चिम र उत्तरपश्चिम सर्दैछ। यसरी सर्नु भनेको नेपालमा बदली हुनु हो।  
    नेपालको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र देशका अन्य प्रदेशमा सामान्य बदली रहेको छ। अहिले बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एक/दुर्ई स्थानमा मध्यम वर्षा भइरहेको छ।
    आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १ र २ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।