कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

सर्लाही, ६ असोज/रासस
    जिल्लामा कोरोना भाइरस जितेर सन्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ। लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गरिन्। उनले भनिन्, “घरपरिवारका मानिसदेखि समाजका अरू व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुर्ई छोरा छन्, उनीहरू पनि तपाईंलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन्।”
    उनले भनिन्, “म महिला सञ्जालमा काम गर्छु, समाजमा सबै खालका मुद्दाहरू आइरहन्छन्। समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ। एक दिन अचानक मलाई कमजोरी महसूस भयो। अनि जाँच गराउँदा कोरोना भएको रहेछ। त्यसपछि घरमा आएर तीन दिन जति छुट्टै घरमा क्वारेन्टाइनमा बसें। त्यही बेला स्वाब परीक्षणको रिपोर्ट आयो। शङ्का त लागेको थियो तर कमजोरी होला भन्ने सोचेकी थिएँ तर फ्याट्ट कोरोना देखियो।” त्यसपछि लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेशनमा दुर्ई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोनालाई जितेको उनको अनुभव छ। बेला–बेलामा तातोपानी र बेसारपानी खाएको उनले सुनाइन्।
    कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै उनले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाइ छ। लालबन्दी नगरपालिका–८ का वडाध्यक्षसमेत रहेका ३५ वर्षीय राजनकुमार श्रेष्ठ पनि तातोपानी बेसार, जीरा र अदुवा पानी खाएर आफूले कोरोनालाई जितेको बताउँछन्।
    उनले भने, “कोरोना लाग्नेबित्तिकै शुरूमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ। लागिहाले आत्तिहाल्नुपर्ने अवस्था हुँदोरहेनछ। कोरोना भनेको केही होइन रहेछ।” कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउँदै उनले आफूले पनि अरू कोरोना सङ्क्रमितहरूसँगै आइसोलेशनमैं बसेर उपचार गरेको र आइसोलेशनमा बस्दा अरू कोरोना सङ्क्रमितको मनोबल नघटोस् भनेर रमाइलो गरेको बताए। जिल्लामा करीब दुर्ई हजार २०० को हाराहारीमा कोरोना सङ्क्रमण देखिएको भएपनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना सङ्क्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। अहिले जिल्लाको एकमात्र नगरपालिका लालबन्दीमा कोरोना सङ्क्रमणका बिरामी एकजना पनि नरहेको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रकुमार खतिवडाले बताए। नगरमा देखिएका ८४ कोरोना सङ्क्रमित सबै कोरोना जितेर घर गइसकेका नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।