– कुमार रुपाखेती
बाल्यकालदेखि नै कुल, खानदानको मानसम्मान बढाउने देखेपछि बाआमाले यिनको नाम नै कुलमान राखिदिए। नेपाल विद्युत् प्राधिकरणमा नियुक्त भएपछि नेपाल जलस्रोतको धनी राष्ट्र हो भन्ने पनि यिनले प्रमाणित गरे। १४ घण्टे लोडसेडिङलाई निर्मूल गरी यिनले मुलुकलाई नै झलमल्ल पारे, विद्युत् माफियाहरूले नेपालमा दश वर्षसम्म लोडसेडिङ रहन्छ भन्ने षड्यन्त्रलाई यिनले ६ महीनाको कार्यकालमैं सफेद भूmट साबित गरिदिए। बिचौलिया र दलालहरूको जेनरेटर र इन्भर्टर आदिको बिक्रीबाट हुने एकलौटी ब्रह्मलूट समाप्त गरे। विद्युत्को अभावमा बन्द कलकारखाना चालू हुन थाले, हजारौं मजदूरले काम पाए, चोरी–चकारी घट्यो आदि इत्यादि। नियमित विद्युत् आपूर्तिको श्रेय कुलमानको पोल्टामा पर्न थाल्यो, सरकारको पोल्टा खाली हुन थाल्यो, मेचीदेखि महाकालीसम्म कुलमान घन्किन थाले, मुलुकबाट एकपटक फेरि कुपी, टुकी, डिबिया, लालटेन र मैनबत्ती युग समाप्त हुन थाल्यो र जेनरेटर, इन्भर्टर कामविहीन भए। तर मुलुकमा प्रणाली मात्र फेरिएको छ, प्रवृत्ति त उही छ भन्ने कुरा कुलमानले थाहै पाएनन्। जनताको हीरो बनेका कुलमानलाई सरकारले हीरोबाट जिरोमा झार्ने प्रपञ्च रचिसकेको थियो।
काग कराउँदै छ, पिना सुक्दैछ भनेझैं जनता कराइरह्यो तर सरकारले सुनेन र कुलमान विद्युत्बाट बिदा भए। मलाई अस्ति पहिलोपटक बाबुराम भट्टराईले ओली पारामा सुनाएको कुरा मन प–यो। “लाटोबुङ्गोले जे भन्यो, त्यो गर्दैन र जे नगर्नु भन्यो त्यो गर्छ रे।” ओली सरकार लाटोबुङ्गोकै अवतार रहेछ। हुन पनि हो ओलीहरूलाई कुलमानभन्दा वामदेवको नियुक्ति जरुरी छ। अब बिजुलीभन्दा सत्ता प्यारो हुन्छ नै। वामदेव ओली बचाउन सक्छन्, बिचरा कुलमानले जाबो बिजुली बचाउने र नेपाल उज्यालो पार्ने मात्र त हो नि ! दिया तले अँधेरा भनेझैं सरकारले कुलमानकै बिजुली गुल गरिदिएको छ। ‘खुदा मेहरबान तो गदहा पहलवान’ बाबाआजमको पालादेखि चल्दै आएको हो। नेपाली राजनीतिमा अचेल राम्रालाई हाम्राहरूले पटकनी दिंदै आएका छन्। गलत काम गर्ने दुष्टलाई कस्तो जनावरजस्तो हर्कत गरेको भन्दा रिसाउँछ र कस्तो शेर (सिंह) जस्तो हर्कत गरेको भन्दा नाक फुलाउँछ। सिंह पनि जनावर हैन र ? अब ओली सरकारलाई जनावर भन्ने कि सिंह ?
सबैभन्दा हाँसो त तब उठ्यो, जब गुपचुप भारत (माइती) चहारेर, त्यहाँको मिडियामा नेपाल र नेपालीबारे विषवमन गरेर लुकीछिपी नेपाल पसेकी सरिता गिरी कुलमान हटाएर सरकारले राम्रो काम गरेको फलाक्न थालिन्। अकबरे सुनमा कसी लाउनुपर्दैन भन्ने थाहा हुँदाहुँदै सरकारले कुलमानलाई कसीमा उतार्न खोज्नु कालीदासले आफैं बसेको रूखको हाँगा काट्न खोजेजस्तै हास्यास्पद घटना हो रे !
कोरोनाले गर्दा मुलुक आर्थिक, स्वास्थ्य र बेरोजगारको चरम पराकाष्ठामा पुगेको बेला कुलमानको नाममा रँडाको मचाएर सरकारले विद्युत् सङ्कटसमेत थप्ने तयारी गरेको बुझिन्छ। ओली सरकारको यस्तै धृतराष्ट्र प्रवृत्ति रहेमा हामीले कुलमान होइन, लोडसेडिङ तालिकाको प्रतीक्षा गरे बेस हुन्छ। विद्युत् प्राधिकरण फेरि दुहुनो गाई बन्दैछ।
नेकपामा अहिले चरम गुटबन्दी छ। अझै पनि एमाले र माओवादीको गन्ध जबरजस्त छ। कुलमानलाई माओवादीका जनार्दन शर्माले विद्युत्मा ल्याएका हुन्। त्यतिखेर शर्मा ऊर्जामन्त्री थिए, अहिले वर्षमान पुन छन्। भनिन्छ, ऊर्जा मन्त्रालय कुलमानको पुनर्नियुक्तिबारे मौन रह्यो रे ! अर्काथरी भन्छन् केपी ओलीले कुलमानलाई अहिले थाती राखौं भने रे ! जतिथरी नेता त्यतिथरी कुरा हुने भएकोले सर्वसाधारणले वास्तविकता थाहा पाउनै नसक्ने भयावह अवस्था छ।
भनिन्छ, नेपाली जनजिब्रोमा मेची–महाकालीसम्म कुलमानको अतिप्रशंसा नै उनको दुश्मन साबित भयो रे ! कुलमानको खटिया खडा गर्न थुप्रै शक्तिशाली विद्युत् माफियाहरूको समेत महत्वपूर्ण भूमिका छ रे १ अनि अन्धेर नगरी चौपट राजा…को अवस्थामा पुगेको हाम्रो मुलुकमा त्यसै पनि कुलमानजस्ता आदर्श पात्रहरूको अकाल परिरहेको बेला उल्टै सरकारले दक्ष र योग्यहरूको पजनी गर्न कम्मर कसेर लागेको देखिन्छ। अनि कुलमानको बेडा गर्क गरेर ओलीजीका सालो हितेन्द्र शाक्य नै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएमा कसैले अचम्म मान्नुपर्दैन। ३ करोड नेपालीलाई अब कुलमानको होइन लोडसेडिङ तालिकाको बेसब्रीले प्रतीक्षा छ। ओलीजीसँग अब कुलमान होइन बिजुली कटौती तालिका माग गरौं। अस्तु !