प्रस, पोखरिया, ४ असोज/
छिपहरमाई गाउँपालिका–३ टिउकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गापा अध्यक्ष मनोजकुमार गुप्ताले आइतवार बर्थिङ सेन्टरको उद्घाटन गरेका थिए।
सो अवसरमा उनले गापाका पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे।
यसअघि गापाको वडा नं ४ तुलसीबर्वामा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको छ भने वडा नं ३ जयमङ्गलापुरमा बर्थिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष गुप्ताले बताए।
यसैगरी, वडा नं १ मिर्जापुरमा बर्थिङ सेन्टर निर्माणको लागि चालू आवमा रु ८० लाख बजेट छुट्याएको र चाँडै भवन निर्माण शुरू गरिने उनले बताए। वडा नं ५ भिस्वामा पनि बर्थिङ सेन्टर निर्माणको लागि आगामी वर्ष बजेट विनियोजन गर्ने अध्यक्ष गुप्ताले प्रतिबद्धता जाहेर गरे।
उनले बर्थिङ सेन्टर नहुँदा गाउँका महिलाहरू भारतको बेतिया, सिक्टा, मैनाटारलगायतका क्षेत्रमा जानुपर्ने बाध्यता रहेको र कतिपय घटनामा उनीहरूलाई समस्या हुने गरेकोले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको बताए।
बर्थिङ सेन्टरमा प्रसूति गराउने महिलाहरूलाई प्रोत्साहनस्वरूप रु २ हजार नगद दिइने गापाले निर्णय गरिसकेको उनले जानकारी गराए। अध्यक्ष गुप्ताले बर्थिङ सेन्टरमा छिट्टै चिकित्सकको व्यवस्था गर्ने जानकारी गराए। उनले आफ्नो गाउँका मानिसहरू कुनै पनि स्वास्थ्य समस्यालाई लिएर गाउँबाहिर जान नपरोस् भनेर चिकित्सकीय व्यवस्था गर्न लागेको बताए। गापाका पाँचवटै स्थानमा बर्थिङ सेन्टरसहित स्वास्थ्य सेवा प्रभावकारी बनाउनेतर्फ अग्रसर रहेको अध्यक्ष गुप्ताको भनाइ छ।