प्रस, वीरगंज, २९ भदौ/
वीरगंजमा थप एकजना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं १० बस्ने ५५ वर्षीया महिला रहेकी छन्।
उनको हिजो नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा दिउँसो २ बजेर ५५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। भदौ १२ गते शङ्कास्पद अवस्थामा भर्ना भई उपचार गराइरहेकी महिलामा भदौ २२ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। दुवै फोक्सो निमोनियाले ग्रसित महिलाको श्वासप्रश्वासमा अचानक समस्या आएपछि आइसियू कक्षमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।
यसैगरी, पर्सामा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। वीरगंजमा विगत ५ दिनपछि कोरोना सङ्क्रमणको मृत्यु भएको छ। हाल गण्डक कोभिड अस्पतालमा ३ दर्जनको सङ्ख्यामा सङ्क्रमितहरू छन् भने सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन घट्दै गएको छ। दैनिक हुने करीब तीन सय पिसिआर परीक्षणमा पनि पर्सा, बारा र रौतहटका गरी २० जनाभन्दा कममा सङ्क्रमण पुष्टि भइरहेको छ।