वीरगंजमा होल्ड ६ सय कन्टेनर केराउको जाँचपास भएन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २५ भदौ/
चैत १६ गतेअघि सिपमेन्ट भएको केराउको हकमा भदौ १४ गते मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गरिसक्दा पनि माथिल्लो निकायको लिखित पत्राचार नहँुदा वीरगंजमा अडेको ६ सय कन्टेनर केराउको जाँचपास हुन सकेको छैन ।
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारमा तेस्रो मुलुकबाट आयात भएका केराउ, मरिच र छोहोडाको जाँचपास हुन नसकेको व्यवसायीहरूले बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले सुक्खा बन्दरगाह भन्सार कार्यालयले सो सम्बन्धमा माथिल्लो निकायबाट निर्देशनसहित पत्राचार आए मात्र जाँचपास गर्ने भनी बताएको उल्लेख गरे । सरकारले एक साताअघि मन्त्रिपरिषद्को निर्णयबाट चैत १६ गतेअगावै आयात गरिएका केराउ, मरिच, छोहोडा जाँचपास गरी आयात गर्ने बाटो खोलेको थियो ।
तर सुक्खा बन्दरगाह भन्सार कार्यालयले भने माथिल्लो निकायबाट लिखित पत्र नआएको भनी ती सामानको जाँचपास गरेको छैन । ६ महीनादेखि केराउ, मरिच र छोहोडा होल्ड हुँदा व्यवसायीलाई ५० लाख रुपैयाँभन्दा बढी विलम्ब शुल्क र पार्किङ शुल्क अतिरिक्त लागेको बताइन्छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पूर्वेले पत्र आएपछि चैत १६ गतेअगावै सिपमेन्ट भएका मालवस्तुको जाँचपास गरिने बताए । उनले निर्णयको लिखित जानकारी नआउन्जेलसम्म केही हुन नसक्ने बताए ।
सरकारले गरेको निर्णय मन्त्रालय, विभागबाट निर्देशन भएपछि भन्सारमा रोकिराख्ने कुरै भएन प्रवक्ता पूर्वेले भने । उनले ६ सय कन्टेनरमा ८० प्रतिशत केराउ र २० प्रतिशत मरिच र छोहोडा भएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।