प्रस, पोखरिया, २३ भदौ/
पोखरिया नगरपालिकामा मङ्गलवार एकै दिन दुईजना महिलाले आत्महत्या गरेका छन्।
पोखरिया नपा–९ शिवबर्वा निवासी २५ वर्षीया पूजा देवी र वडा नं. १० शिवबर्वा निवासी ३५ वर्षीया विद्यान्ती देवीले पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए। पूजा देवीले पक्की घरको सिलिङमा कपडाको पासो लगाएर आत्महत्या गरेकी हुन् भने विद्यान्ती देवीले खपडाको घरमा बाँसमा कपडाको पासो लगाएर आत्महत्या गरेकी हुन्।
प्रारम्भिक अनुसन्धानमा दुवै आत्महत्याका घटना घरायसी विवादको कारणले भएको पाइएको प्रनि सिंहले बताए। दुवै महिला विवाहित हुन्। विद्यान्ती देवीका दुई छोरा र एक छोरी छन् भने पूजा देवी निस्सन्तान हुन्। घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने प्रनि सिंहले बताए।
यसैबीच, लकडाउनयता इलाका प्रहरी कार्यालय अन्तर्गतका क्षेत्रमा विगत ६ महीनामा योसमेत १६ वटा आत्महत्याका घटना उजागर भएको छ। छिपहरमाई गापामा सातजनाले यो अवधिमा आत्महत्या गरेका छन् भने पोखरिया नपामा ४ जना, विन्दवासिनी र धोबिनी गापामा २/२ जना तथा जगरनाथपुर गापामा १ जनाले आत्महत्या गरेका छन्। छिपहरमाई गापामा एकजनाले विषसेवन गरी आत्महत्या गरेकोबाहेक १५ वटा घटनामा पासो लगाएर आत्महत्या गरिएको प्रहरीले जानकारी गराएको छ।