प्रस, निजगढ, १८ भदौ/
निजगढ नगरपालिका–८ का ३७ वर्षीय लालध्वज लामाको हत्यामा संलग्न भएको आरोपमा ३ जना पुरुष र १ जना महिलासहित ४ जनालाई बारा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलानको आदेश गरेको छ। शुक्रवार बारा जिल्ला अदालतले चारैजनालाई पुर्पक्षको लागि जेल चलानको आदेश गरेपछि उनीहरूलाई वीरगंज कारागार पठाइएको छ।
पीडित परिवारको किटानी जाहेरीको आधारमा चारजनामाथि प्रहरीले अनुसन्धान गरी बुधवार अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरिएका निजगढ नगरपालिका–९ का सञ्जय भनिने वर्ष ४५ को चक्रबहादुर तामाङ, सोही नगरपालिका वडा नं. ८ का वर्ष ३३ को केशवराज शिवाकोटी, सर्लाही बागमती नगरपालिका–३ का २४ वर्षको जोखबहादुर स्याङ्तान र निजगढ नगरपालिका–८ की ३९ वर्षीया वन्दना लामालाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको हो।
जीतपुर–सिमरा उपमहानगरपालिका–२२ अमलेखगंज ससुरालीमा मृतक लामा परिवारसहित बस्दै आएका थिए। लामा असार २१ गते साँझदेखि सम्पर्कविहीन भएपछि खोजी कार्य गर्दा असार २८ गते अमलेखगंजस्थित थानीमाई सामुदायिक वन क्षेत्रको सिसौंघारी जङ्गलमा मृत अवस्थामा फेला परेका थिए।