प्रस, वीरगंज, १८ भदौ/
बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजा सामग्रीको अभाव भएको छ। लकडाउन र निषेधाज्ञाका कारण ६ महीनादेखि मन्दिर बन्द भएको र भक्तजनहरू आउन छाडेकाले चढावन नपरेको र नगरपालिका तथा मन्दिर सञ्चालक समितिसमेतले बेवास्ता गरेको कारण पूजा सामग्रीको जोहो गर्न समस्या भएको पुजारी शम्भुप्रसाद चौधरीले गुनासो गरेका छन्।
स्थानीयले पनि नगरपालिका तथा विकास समितिले ध्यान दिनुपर्नेमा बेवास्ता गरेको भन्दै दुःखेसो पोखे। बाराको प्रसिद्ध ऐतिहासिक गढीमाई मन्दिरमा पूजा सामग्रीको अभाव हुनु दुःखद भएको स्थानीयको गुनासो छ। सामान्य कुरामा मन्दिरको विकास समितिले ध्यान नदिनु गैरजिम्मेवारीपन भएको उनीहरूको भनाइ छ।
महागढीमाई नगरपालिकाले भने मन्दिर व्यवस्थापनको कार्य विकास समितिले गर्नुपर्ने बताएको छ। विकास समितिले भने यसबारेमा जानकारी नगराइएको जनाएको छ। यस प्रकारको लापर्बाही हुनु नपर्ने भन्दै विकास समितिले तुरुन्तै पूजा सामग्रीको व्यवस्थापन गर्ने आश्वासन दिएको छ।