शिक्षकहरूको सम्पत्ति विवरण दर्ता अन्योल

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, ६ भदौ/
लगातारको निषेधाज्ञाको कारण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सम्पत्ति विवरण दर्ता अन्योलमा परेको छ।
शिक्षकहरूले आव २०७६/०७७ को सम्पत्ति विवरणको फाराम भरेर तयारी अवस्थामा राखे पनि सम्बन्धित निकायमा दर्ता गर्न समस्या भएको जगरनाथपुर गाउँपालिका–३ स्थित बाबा वैद्यनाथ प्रावि गढैयाका प्रधानाध्यापक बादशाह साहले बताए। निषेधाज्ञाका कारण हुलाक कार्यालय तथा वीरगंजमा रहेका कुरियर सेवा बन्द रहेका कारण सम्पत्ति विवरण पठाउन नसकिएको प्रअ साहले गुनासो गरे। शिक्षकको सम्पत्ति विवरण भदौ २८ गतेसम्म शिक्षक किताबखाना काठमाडौंमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ।
यता, शिक्षक महासङ्घ जीराभवानीका अध्यक्ष कृपासिन्धु पटवारीले सम्पत्ति विवरण भरी निषेधाज्ञामा धेरै समस्या झेल्दै वीरगंजस्थित एक कुरियरमा जम्मा गरेको बताए। जम्मा गरिएका सम्पत्ति विवरण समयमा सम्बन्धित निकायसम्म पुग्ने हो कि होइन ठेकान नभएको अध्यक्ष पटवारीले बताए।
सम्पत्ति विवरण तोकेको समयमा सम्बन्धित निकायमा दर्ता नभए रु १० हजार जरिवाना तिर्नुपर्ने प्रावधान छ। अन्य कर्मचारीलाई स्थानीय तहको माध्यमले प्रदेश सरकारको कार्यालयमा दर्ता गर्न स्थानीय तहहरूले सूचना निकालेका छन्।
यस सम्बन्धमा ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले गाउँपालिकाका शिक्षकलगायत सम्पूर्ण कर्मचारीको सम्पत्ति विवरण भदौ २८ गतेसम्म दर्ता गर्ने बताए। गाउँपालिकाले सम्पूर्ण शिक्षक, कर्मचारीको सम्पत्ति विवरण सम्बन्धित निकायसम्म पठाउने अधिकृत थापाले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।