प्रस, बिरुवागुठी, ५ भदौ/
कोरोना महामारीको फाइदा उठाउँदै काठ तस्करहरू सक्रिय भएका छन्। अहिले पर्साका राष्ट्रिय जङ्गलबाट व्यापक काठ तस्करी भइरहेको छ भने वनगस्ती टोलीले केही तस्करलाई पक्राउ पनि गरेको छ।
वनगस्ती टोलीले पर्सागढी नगरपालिका–१ मनवा भटनी गाउँनजीकबाट चार थान सालको गोलियासहित साइकल नियन्त्रणमा लिएको छ।
सबडिभिजन वन कार्यालय बडनिहारका जमदार मनोज सिंहको कमान्डमा खटेको वनगस्ती टोलीले करीब २० क्युफिट चार थान सालको गोलिया र चारवटा साइकल बरामद गरेको थियो। वनगस्ती टोलीलाई देखेपछि काठ तस्करहरू फरार भएका थिए। बरामद गरिएको गोलिया सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको जमदार अमर सिंहले बताए।
यसैगरी, पटेर्वासुगौली गाउँपालिका–२ गादी मन्दिरबाट सबडिभिजन वन कार्यालय रङ्गपुरका सुबेदार प्रदीप तिमल्सिनाको कमान्डमा खटेको टोलीले बुधवार राति दुई थान सालको गोलियासहित दुईवटा साइकल बरामद गरेको छ। गस्ती टोलीलाई देखेपछि तस्करहरू फरार थिए। बरामद १५ क्युफिट काठ कारबाईको लागि सबडिभिजन वन कार्यालय रङ्गपुरमा राखिएको रेन्जर कपिलदेव यादवले बताए।
प्रस, सेढवा/
सबडिभिजन वन कार्यालय वसन्तपुरले बिहीवार साँझ तीनवटा सालको गोलिया बरामद गरेको छ।
राष्ट्रिय वनबाट सालको गोलिया ट्याक्टरमा लोड गरी जीराभवानी गाउँपालिका–५ मा पर्ने सुगीभार मन्दिरनजीक लुकाइराखेको अवस्थामा सुबेदार विनोदकुमार कुर्मी नेतृत्वको टोलीले बरामद गरेको थियो।
बरामद गरिएको काठ १८ क्युफिट रहेको र आवश्यक कारबाईको लागि सबडिभिजन वन कार्यालय वसन्तपुरमा राखिएको सुबेदार कुर्मीले बताए।