प्रस, बिरुवागुठी, ३० साउन/
गर्मी बढेसँगै पर्सागढी नगरपालिका आसपास मौसमी बिरामीहरूको सङ्ख्या बढ्दै छ।
पानी पर्ने, घाम लाग्ने गरेकोले गर्मी र जाडोको कारण रुघाखोकी, ज्वरो, एलर्जी, घाउ/खटिरा, टाउको दुख्ने जस्ता समस्याले पीडित हुनेहरूको सङ्ख्या बढेको छ। पर्सागढी नगरपालिकाका स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण देखिएपछि बन्द भएको स्वास्थ्य केन्द्र, चौकी अहिलेसम्म खुल्न सकेका छैनन्। सङ्क्रमित स्वास्थ्यकर्मीहरूको रिपोर्ट नेगेटिभ आइसकेको छ। तर पनि स्वास्थ्य संस्था खुल्न नसक्दा बिरामीहरूलाई समस्या भएको छ।
स्वास्थ्य संस्था नखुलेको कारण निजी क्लिनिकहरूमा उपचार गराउनेहरूको भीड बढेको छ। पर्सागढी नगरपालिका–३ मा रहेका इसिता फार्मेसी र श्रीराम हेल्थ क्लिनिकका स्वास्थ्यकर्मी रामबाबू साहले बिरामी सङ्ख्या बढेको बताए। उनले मौसमी रुघाखोकी, ज्वरो, टाउको दुख्ने, घाउ/खटिरा, झाडापखालाका बिरामीहरू आउने गरेको बताए। उनले अत्यधिक गर्मीमा घरबाहिर ननिस्कन, खानपान र सरसफाइमा ध्यान दिन सुझाव दिएका छन्।