निषेधाज्ञा पूर्णरूपमा पालना गराउने निर्णय

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, ठोरी, ३० साउन/
    ठोरी गाउँपालिका–२ वडा कार्यालयमा शुक्रवार सम्पन्न सर्वपक्षीय बैठकले निषेधाज्ञा पूर्णरूपमा परिपालन गर्ने र कोरोना सङ्क्रमण नियन्त्रणका लागि अग्रसरता देखाउने निर्णय गरेको छ।
    ठोरी गाउँपालिकाका विभिन्न वडाले सङ्क्रमण नियन्त्रणका लागि सर्वपक्षीय बैठक गरेर निर्णय गरेपछि वडा नं. २ ले पनि शुक्रवार बैठक गरेर निर्णय गरेको हो। सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि वडापालिकाले प्रकाशित गरेको सूचनाको पूर्ण पालना गर्ने, औषधिपसलबाहेक अन्य पसलहरू दैनिक दिउँसो ३ देखि साँझ ६ बजेसम्म खुला गर्ने, चाडपर्वहरू वडावासीले आआफ्नो घरमा सीमित भएर मनाउने, बाहिर ननिस्किने र बाहिरबाट वडामा प्रवेश गर्नेहरूको पनि निगरानी राख्ने निर्णय गरेको छ। बैठकले बाहिरबाट प्रवेश गरेका व्यक्तिहरू शङ्कास्पद देखिए त्यसबारेमा सम्बन्धित वडापालिका र प्रहरीमा खबर गर्ने निर्णय गरेको छ।
    यसैगरी, वडामा तत्काल कुनै पनि खेलकूदका गतिविधि नगर्ने, सभा, समारोह, भोजभतेर जस्ता भीडभाड हुने काम नगर्ने, नगराउने, निर्णय भएको कार्यवाहक वडाध्यक्ष श्यामहरि शर्माले बताए।
    सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।