प्रस, रौतहट, २८ साउन/
समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमणको क्रम बढ्दो छ । पछिल्लोपटक चन्द्रपुर नगरपालिकामा पाँचजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पुष्टि भएकामध्ये तीनजना यसअघि सङ्क्रमण पुष्टि भइसकेका हुन् भने एकजना ३९ वर्षीय पुरुषको कन्ट्याक्ट ट्रेसिङमा परेका चन्द्रपुर अस्पतालका स्वास्थ्य निरीक्षक मातृका चालीसेले जानकारी दिए ।
अन्य दुईजना सङ्क्रमितमध्ये एकजना व्यवसायी पुरुष र अर्को एकजना चन्द्रपुर–९ की युवती रहेको स्वास्थ्य निरीक्षक चालीसेले बताएका छन् ।
नगर क्षेत्रका ११७ जनाको स्वाब सङ्कलन गरेर हेटौंडा प्रयोगशालामा पठाइएकोमा पाँचजनामा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमण पुष्टि भएका सबैको कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको छ । चन्द्रनिगाहपुर चोकमा फर्निचर र फेन्सीको व्यवसाय गर्दै आएका सङ्क्रमित व्यवसायीले सामाजिक सञ्जाल फेसबूकमार्फत ५ दिनअगाडि आफूलाई ज्वरो आएर पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको जानकारी गराएका थिए ।
उनले एक हप्ताअघिसम्म आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई होम क्वारेन्टाइनमा बसेर पिसिआर परीक्षण गर्न अनुरोध गरेका थिए । सङ्क्रमण पुष्टि भएकाहरूलाई चन्द्रपुर–२ स्थित अस्थायी कोभिड अस्पतालमा राखिएको छ ।