प्रमोद यादव, पंचगावाँ, २७ साउन/
कोरोना भाइरसका कारण पर्सा जिल्लामा निषेधाज्ञा जारी भएकोले अहिले किसानहरू बढी समस्यामा परेका छन् ।
निषेधाज्ञाले स्थानीय तह बन्द छन् । स्थानीय तह बन्द भएका कारण त्यहाँ रहेका कृषि शाखाको सेवा पनि बन्द छ । तर सेवा बन्द भएको बेलामा किसानहरूलाई धानबालीमा लागेको रोगबारे परामर्श दिने कर्मचारी नहुँदा कीटनाशक औषधि विक्रेताहरूले किसानहरूलाई ठगिरहेका छन् ।
निषेधाज्ञाको कारण स्थानीय तहले किसानलाई दिने परामर्शसहितको कीटनाशक औषधि वितरण हुन सकेको छैन । लकडाउनसँगैको निषेधाज्ञाको कारण उनीहरूले बजारबाट कीटनाशक औषधि खरीद गर्दा महँगो मूल्य चुकाउन बाध्य छन् नै उचित सल्लाहबाट पनि वञ्चित छन् । कीटनाशक औषधि विक्रेताहरूमा धेरैजना अनुभवी छैनन् । तर किसानहरू अहिले तिनीहरूकै भरमा औषधि खरीद गरेर खेतबालीमा छर्नुपर्ने बाध्यता झेलिरहेका छन । पर्सा जिल्लामा भदैया धानमा अमेरिकी फौजी (गान्ही) कीराले सोना मन्सुली र सोना सारोमा प्रभाव पारेको छ भने अगहनी धानमा सरलहवा (ब्लास्ट) रोगले सताएको छ ।
सोना मन्सुली धानको जरो सड्ने, धानको बाला (पिका) खाइदिने जस्ता काम अमेरिकी फौजी कीराले गरेको छ । ब्लास्ट रोगले पनि धानको जरा सुक्ने र कीराले जरै खाने गरेको किसानहरू बताउँछन् ।
सखुवाप्रसौनीका किसान प्रभु यादवले लकडाउन, निषेधाज्ञाले स्थानीय तहमा बाहिरबाट आएका कृषि कर्मचारीहरू घर गएका र हालसम्म नआएकाले उनीहरूबाट पाउने रायसल्लाह तथा सुझावबाट वञ्चित हुनुपरेको बताए । स्थानीय तहले दिने कीटनाशक औषधिहरू पनि नदिएको अवस्थामा कीटनाशक औषधि विक्रेताको भरमा यस वर्ष धानखेती गर्नुपरेको उनले बताए ।
औषधि विक्रेता अनुभवी भएको ठाउँमा किसानले समस्या भोग्नुपरेको छैन तर अनुभवहीन विक्रेता भएको ठाउँका किसानले समस्या भोग्नुपरेको उनले बताए । प्रत्येक वर्ष रोगले समस्या उत्पन्न गर्ने हुनाले किसानहरूलाई प्रत्येक वर्ष यसबारेमा परामर्श आवश्यक छ ।
थोरै मात्र किसानले गत वर्ष यसै गरी आएको समस्यामा जुन कीटनाशक औषधिको प्रयोग गरेका थिए, यसपालि पनि आप्mनो ज्ञानले सोही कीटनाशक औषधि प्रयोग गर्छन् । मौकाको फाइदा उठाउने क्रममा कीटनाशक औषधि विक्रेताहरूले अहिले किसानहरूलाई चर्काे मूल्यमा औषधि बिक्री गरिरहेका छन् । स्थानीय तहको सेवा बन्द छ, निषेधाज्ञाले वीरगंज, जीतपुरसम्मको बजार जाने अवस्था छैन, सीमा सिल भएकोले भारतीय बजार जाने वातावरण पनि नभएको अवसरको विक्रेताहरूले पर्याप्त फाइदा उठाएका छन् ।
किसान शम्भु यादवले बीजभण्डार सञ्चालकले अवसरको फाइदा उठाएको बताए । मलपछि अहिले विषादीमा पनि किसानहरू ठगिएको कारण उत्पादन प्रभावित हुन सक्ने उनको भनाइ छ । सबै किसानले महँगो मूल्यमा मल खरीद गर्न नसकेको र अब विषादीको प्रयोग पनि गर्न नसकेको अवस्थामा धानको उत्पादन प्रभावित हुने उनको भनाइ छ । लकडाउनमा यस वर्ष किसानले सिंचाइको मात्र सुविधा पाए तर मल र विषादीमा ठगिएका छन् ।