अतीतको झ्यालबाट अतीतमा हेर्दा के थाहा हुन्छ भने युरोप, अमेरिका आदि देशहरूले भौतिक विज्ञानको क्षेत्रमा तीव्र गतिले प्रगति गरेका छन् । बेग्लाबेग्लै आविष्कारको माध्यमले चिकित्सा, व्यापार, परिवहन, शिक्षा आदि क्षेत्रमा व्यापक प्रगति भएको छ । यस प्रगतिको कारण नै पश्चिमी देशहरूले विश्वको धेरैजसो देशमाथि आप्mनो प्रभुत्व स्थापित गरेका छन् । नेपालले पनि अमेरिका र युरोप आदि देशको विकासलाई सर्वोपरि ठानेको छ । यसलाई नै आदर्श मानेर उनीहरूको नक्कल गर्न थालेको छ । नेपालमा यी देशहरूको बढ्दो प्रतिष्ठाको कारण पश्चिमी सभ्यता र संस्कृतिलाई आत्मसात् गर्ने होड पैदा भएको छ । नेपाललगायत अन्य विकासशील देशहरूमा पनि पश्चिमाकरणको हावा बग्न थालेको छ । यस सँगसँगै विकसित हुँदै गएको प्रत्येक प्रचलन र खोजलाई पनि पश्चिमाकरणको रूप दिन थालियो । बिस्तारै आधुनिकीकरण र पश्चिमाकरणलाई एउटै आँखाले हेर्ने चलन बढ्दै गयो । यहींनिर के प्रश्न उठ्छ भने विकासशील र अविकसित देशको विकास र आधुनिकताको पूर्वशर्त के पश्चिमाकरण हो ? पश्चिमाकरणलाई नमान्नु वा दुत्कार्नु के आधुनिकतालाई अस्वीकार गर्नु हो ? यस्ता प्रश्नहरूको वस्तुनिष्ठ जवाफ नखोजेसम्म हाम्रो समाज आधुनिक हुने लालसामा पश्चिमाकरणको दलदलमा झन् तीव्र गतिले भासिने निश्चित छ ।
उन्नाइसौं र बीसौं शताब्दी युरोप केन्द्रित रह्यो । त्यही अवधिमा युरोपका शक्तिशाली देशहरूले विश्वभरि साम्राज्य र उपनिवेश कायम गरेकाले विश्वव्यापी पश्चिमाकरणको लागि मार्ग प्रशस्त भएको थियो । युरोपको औद्योगिक क्रान्तिले गर्दा त्यही अवधिमा झन् नयाँ उपनिवेश बनाउने होड नै चलेको थियो । अन्य देशमा लादिएको उपनिवेश र साम्राज्य पुष्टि गर्न सभ्यता निर्यात गर्ने भनिएकाले भाषा, साहित्य, कला, धर्म, सङ्गीत, शिक्षा प्रणाली हुँदै खानपान र पोशाकसम्ममा युरोपकै शैली अँगाल्नु सर्वश्रेष्ठ ठानियो । त्यो भ्रम उघार्नुको साटो आज झन् हरेक क्षेत्रमा अन्धानुकरण बढेको छ । भर्खरै आर्थिक उन्नतितर्फ पाइला टेकेका एशियाली र अफ्रिकी देशहरूमा सशक्तीकरण र सामाजिक उत्थानको नाउँमा विकसित देशहरूद्वारा उनको संस्कृतिको भारी बोकाउँदा यी देशहरू आन्तरिक द्वन्द्वमा मात्र फसेका छैनन्, आर्थिक उन्नतिको बाटोसमेत अल्मलिन पुगेको छ । अर्कोतिर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग आबद्ध नेपालका नयाँ पुस्ता पश्चिमी संस्थासँग मिलेर अघि बढ्दा सामाजिक दरार पैदा भएको हाम्रो अनुभव रहेको छ । हुनत सामाजिक न्याय र मानव अधिकारको विषयलाई सबैले स्वीकार गरेका छन् तर त्यही वैशाखी टेकेर तेस्रो विश्वमा विग्रह, विभाजन र उत्तेजना ल्याउनु आधुनिकताको अभ्यास नभई पश्चिमाकरणको अनुसरण हो ।
नेपाली समाज धेरै ठूलो स्तरमा आधुनिकतातर्फ उन्मुख भइसकेको छ र यो राम्रो पनि हो, तर विडम्बना के देखिएको छ भने हामीले पश्चिमाकरणलाई नै आधुनिकता भन्ने भ्रम पालेका छौं । आधुनिकताले समाजलाई उन्नत, सुसंस्कृत, सभ्य र दक्ष बनाउँछ तर पश्चिमाकरणले हाम्रो मान्यता र आदर्शलाई ध्वस्त पार्छ । अब जब पश्चिमाकरणको दोष अगाडि आउन थालेको छ, त्यसमा पनि मानिसहरू आधुनिकतामा पनि पश्चिमाकरणको प्रभाव खोज्न थालेका छन् । यस परिस्थितिबाट समाजलाई जोगाउन आज बुद्धिजीवीहरूले के भन्न थालेका छन् भने आधुनिकीकरण र पश्चिमाकरण एक नभई एक अर्कासँग भिन्न छन् । यस अन्तरलाई बुझ्नको लागि यस तथ्यमाथि गहिरो चिन्तन टडकारो देखिएको छ । जब मानिसले परम्परागत विचार, कार्य, पद्धति र जीवनशैलीलाई समयानुसार र अर्थपूर्ण बनाउनको लागि त्यसमा नयाँ विचार, नयाँ सोच र प्रविधि समावेश गर्दछ, अनि यस प्रक्रियाले आधुनिकीकरणको रूप ग्रहण गर्दछ । तर पश्चिमाकरणको अर्थ पश्चिमी गोलाद्र्धमा स्थित देश खासगरि फ्रान्स, ब्रिटेन, जर्मनी, इटली तथा अमेरिकासँग लगाइन्छ, किनभने यी देशहरूले भूतकालमैं वैज्ञानिक, आर्थिक–सामाजिक, राजनीतिक आदि क्षेत्रमा धेरै प्रगति गरेको थियो । यस कारण यी देशहरूको प्रभुत्व विश्वभरि स्थापित भयो ।
यस सफलता र विकासबाट प्रभावित भएर अन्य देशहरूले पनि पश्चिमाहरूको सभ्यता र संस्कृतिको अनुसरण गर्न थाले । यस कारण के भन्न सकिन्छ भने पश्चिमा देशको सभ्यता र संस्कृतिको अनुकरण र त्यसलाई आत्मसात् गर्ने प्रक्रिया नै पश्चिमाकरण हो । यसर्थ यी दुवै अवधारणा एक नभई एउटै प्रकृति र प्रक्रियामा विकसित दुई भिन्न तत्त्व हुन् । हुनत दुवैमा धेरै समानता पनि छ, जस कारण यसलाई एउटै ठान्ने भ्रम भइरहन्छ । तर ध्यान दिएर हेर्दा दुवै मध्य रहेको विषमता स्पष्ट देखिन्छ । यदि समानताको कुरा गर्ने हो भने दुवै वर्तमान समयका प्रक्रिया हुन्, जो वैज्ञानिक उन्नतिको कारण प्रकाशमा आएको थियो । पश्चिमा देशहरूले आधुनिकीकरणलाई धेरै तीव्रताका साथ अँगालेका हुनाले त्यो पश्चिमाकरणको पर्याय बन्न सफल भयो । वस्तुतः आधुनिकीकरणको आधुनिक अवधारणाको विकास पश्चिमी जगत्बाट नै भएको थियो । यस कारण पश्चिमाकरणलाई आधुनिकीकरण मानिन्छ । आधुनिकीकरण र पश्चिमाकरणबीच एउटा मसिनो रेखा छ । त्यसको भेद छुट्याउन नसके मौलिकता ओइलाउनुका साथै जताततै उदात्त पश्चिमी प्रभाव बढ्छ ।
पश्चिमा देशरूले लगाउने लुगा, खानपान, चाडपर्व, धर्म, संस्कृति उन्नत र परिष्कृत हुन सक्छ तर अन्य भूगोल, इतिहास र सभ्यता भएका देशहरूको लागि यो मार्गनिर्देशन होइन र हुनु पनि हुँदैन । उनीहरूको सभ्यता आधुनिक होइन, पश्चिमी हो । आधुनिकताको मुहान जुनसुकै भूगोल र संस्कृतिमा हुन सक्छ । उदाहरणको लागि टाइ केको प्रतीक होला ? धेरैजसोले स्वाभाविकरूपमा यसलाई आधुनिकता र चुस्तीको प्रतीक मान्छन् र यही बुझाई बनेर धेरै देशका मानिसहरूको घाँटीमा सजेको पनि छ । विगतको अध्धयन गर्दा टाइको शुरूआत इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट क्रुसमा चढेको प्रतीकात्मक विम्बका रूपमा सन् १६४६ देखि शुरू भयो । यो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । सन् १६१८ देखि तीन दशकसम्म चलेको पर्सियन युद्धमा फ्रान्सेली सेनाले विजय हासिल गरेको उत्सवको रूपमा तत्कालीन शासक लुई चौधौले जिसस सुलीमा चढेको प्रतीकात्मक अर्थ खुल्नेगरी त्यही स्वरूपका पहिरन उपहारस्वरूप दिए । त्यही विशिष्ट उपहार दिएको दिन अक्टोबर १६ लाई युरोप र अमेरिकामा टाइ दिवसको रूपमा मनाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने टाइ संस्कृति आधुनिकीकरणको प्रतीक नभई पश्चिमाकरणको प्रतीक हो ।
नेपालमा निजी विद्यालयसँगै टाइ संस्कृति भित्रिए पनि यो आम भइसकेको थिएन, तर पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमलाई अनिवार्य बनाएसँगै टाइलाई पनि बाध्यात्मक बनाउनु आधुनिक हुने निहुँमा पश्चिमी हुने होडको द्योतक हो । सन् १८३५ मा दक्षिण एशियामा भारतलाई उपनिवेश बनाएपछि ब्रिटिशहरूले इस्ट इन्डिया कम्पनीलाई समाजका सबै पक्षमा प्रभावी बनाउने र अङ्ग्रेजको शासनसँगै अङ्ग्रेजी भाषा, संस्कृति, सभ्यता, धर्म तथा शिक्षा प्रणाली लागू गर्ने योजना बनाए । सोही प्रयोजनका लागि लर्ड म्याकालेले सन् १८३५ देखि १८३८ सम्म भारतको सबै क्षेत्रको अध्ययन गरेर दिएको प्रतिवेदनको सार के थियो भने कुनै पनि देशमा दीर्घकालीन शासन गर्न धर्म, भाषा र संस्कृतिमाथि आक्रमण गर्ने र हरेक क्षेत्रमा बेलायती मोडेल लागू गर्नुपर्छ । त्यसैले हाम्रो धर्म र संस्कृतिलाई हामीबाटै ढोंगी, अन्धविश्वासी र पुरातन भनाउन उनीहरू सफल भए । भारतमा त्यहीं गरियो र त्यसको प्रभाव दक्षिण एशियामा प¥यो । उनीहरू भारत छोडेर गए तापनि शिक्षा पद्धतिको अङ्ग्रेजी मोह झन्झन् विस्तार हुँदै गएको छ ।
आधुनिकीकरण र पश्चिमाकरणलाई एउटै मान्नु हाम्रो लागि भूल साबित हुन्छ किनभने यसको धेरै प्रतिकूल प्रभाव उत्पन्न हुन्छ । जसरी असत्यलाई सत्य बुझ्नाले विपत्तिको आशङ्का उत्पन्न हुन्छ त्यस्तै प्रभाव यहाँ पनि पर्छ । यसबारे गहिरो चिन्तन गर्दा के प्रस्ट हुन्छ भने आधुनिकीकरण र पश्चिमाकरण दुई बेग्लाबेग्लै कुराहरू हुन् जो केही समानताहरूको कारण अभिन्न प्रतीत हुन्छन् । तर कैयन आधारहरूले के साबित गरेका छन् भने दुवै समान होइनन् । आधुनिकीकरण व्यापक शाश्वत र प्रकृतिमा निरन्तर घटित हुने प्रक्रिया हो तर पश्चिमाकरण क्षेत्र विशेष, सीमित र सङ्कुचित सभ्यताको रूप हो ।