प्रस, वीरगंज, २० साउन/
भूमि समस्या समाधान आयोग पर्साले मङ्गलवारदेखि यस अघिको आयोगमा परेका निवेदनहरूमाथि कारबाई शुरू गरेको छ । यसै क्रममा आज पटेर्वासुगैली गाउँपालिका–२ बेलवाटाँडीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको नापनक्शा शुरू भएको भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले बताए ।
अघिल्ला आयोगमा दर्ता भएर जग्गाधनी दर्ता प्रमाणपुर्जा पाएका तर भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा श्रेस्ता कायम नभएका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई विधिवत् जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रदान गर्ने उद्देश्यले आजदेखि नापनक्शा शुरू गरिएको अध्यक्ष तबरेजले बताए ।
पटेर्वासुगौली गापा–२ बेलवाटाँडीमा आज र रङ्गपुर बजारको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको साउन २२ गते बिहीवारदेखि नापनक्शा गरिने बताए । पटेर्वासुगौलीमा अघिल्लो आयोगमा ९० जनाले जग्गाधनी दर्ता प्रमाणपुर्जा पाएका थिए । तर उनीहरूको श्रेस्ता भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा कायम गरिएको थिएन । अहिले ९० जनामध्ये निवेदकको नाममा पुर्जा भएका ४० जना, अरूको नाममा भएको पुर्जा (सट्टापट्टा) २० जनाको नापनक्शा शुरू भएको छ ।
त्यस बेला परेका ९० जनामध्ये २३ जनाको कागजात अपूरो रहेकोले उनीहरूको नापनक्शा भने नहुने उनले बताए । यसैगरी पर्सा जिल्लामा अघिल्लो आयोगबाट जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएका तर भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा श्रेस्ता कायम नभएका वीरगंज महानगरका २९, जीराभवानीका तीन, पकाहामैनपुर गापाका १० जनाको निवेदन छ ।
पटेर्वासुगौली, जीराभवानी, पकाहामैनपुर र वीरगंज महानगर गरेर निवेदकको नाममा पुर्जा भएका ८१ जना, अरूको नाममा भएको पुर्जा (सट्टापट्टा) वाला २१ जना र अपूरो कागजपत्र भएका ३० जना गरी १३२ वटा निवेदन रहेको उनले बताए ।
पटेर्वासुगौली गापा–२ बेलवाटाँडीमा आज आयोजित कार्यक्रममा अध्यक्ष आलमले भने–बच्चाले नरोएसम्म आमाले दूध खुवाउँदिनन्, त्यसैगरी हामी पनि अब हाम्रो भूमि अधिकारका लागि दबाबमूलक कार्यक्रम गर्न तयार हुनुपर्छ । उनले भूमिहीन समुदायका मागलाई संस्थागत ढङ्गले अघि बढाउन अपील पनि गरे । आयोग सधैं भूमिहीन र सुकुम्बासीको पक्षमा रहेको बताउँदै यो काम केवल प्रक्रिया होइन, न्याय हो भनी बताए ।
गापाध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख ममता महतो, वडाध्यक्ष विजय गैरे, नापी अधिकृत राजकुमार बिक, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्कालगायतको सहभागिता थियो । यस अघि आयोगले सखुवाप्रसौनी र हिजोदेखि ठोरी गापामा पनि नापनक्शा जारी राखेको छ ।