जन्मदर्तासम्बन्धी अभिमुखीकरण

0
41

प्रस, वीरगंज २० चैत/
पोखरिया नगरपालिकाको सहयोग र युनिसेफको सहकार्यमा बालविवाह न्यूनीकरण तथा जन्मदर्तासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरिया नगरपालिका–२, ३, ६, ७, ८ र १० वडामा चैत महीनाको पहिलो सातादेखि सञ्चालन गरेर दोस्रो सातामा अभिमुखीकरण कार्यक्रम समापन गरिएको थियो । १० दिने अभियानमा चालू आवमा छवटा वडामा बालविवाह न्यूनीकरण तथा जन्मदर्तासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो भने गत वर्ष १, ४, ५ र ९ गरी चारवटा वडामा बालविवाह न्यूनीकरण तथा जन्मदर्तासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

बालविवाह न्यूनीकरण तथा जन्मदर्तासम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तर्गत १० दिने अभियानमा बालविवाहबाट हुने खतराहरू, कानूनी कठिनाइ, सरकारी सेवा सुविधा पाउन नसकिने, विवाह बदर हुने, दण्ड सजाय हुन सक्नेबारेमा सम्बन्धित वडावासीहरूलाई अभिमुखीकरणको माध्यमबाट जानकारी गराइएको थियो ।

यसैगरी, बाल अधिकार संरक्षण नहुने, सानैमा बिहे हुँदा बालपन नष्ट हुने, बाल अधिकारबाट वञ्चित हुने, शिक्षा प्राप्त गर्न नसक्ने, जीवनोपयोगी सीप प्राप्त हुन नसक्ने, कम उमेरमा बच्चा जन्माउँदा शरीर कमजोर र रोगी हुने, आमा तथा बच्चाको मृत्यु पनि हुन सक्ने, धेरै बच्चा जन्मिने सम्भावना बढ्ने, पाठेघरमा समस्या हुनेलगायतका समस्याहरूका बारेमा प्रशिक्षक विजयकुमार झा, सामाजिक शाखाका वाल्मीकि साह, पञ्जीकरण शाखाका सुनील रामले प्रशिक्षण दिएका थिए ।

अभिमुखीकरणमा महिला तथा बालबालिका शाखाकी हस्तयानी गिरीले बालविवाह गर्ने र गराउनेहरूलाई मुलुकी अपराध, फौजदारी तथा कसूर सजाय ऐन, २०७४ अनुसार तीन वर्ष जेल र ३० हजार रुपैयाँ जरिवाना अथवा दुवै हुन सक्ने जानकारी गराइन् ।

अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा नगरप्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रुबी ठाकुर, वडाध्यक्ष, वडा सदस्य, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ता, पुरोहित, मोल्वी, स्वयंसेविका, धर्मगुरु लगायत लक्षित वर्गको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here