प्रस, वीरगंज, २० चैत/
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारको पालामा अघि बढाइएको मधेसको विकास केन्द्रित अभियानलाई फेरि अघि बढाउने बताएका छन् । सोमवारदेखि शुरू एमाले बाराको ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पछिल्लो समीकरणमा एमालेबाट मधेस प्रदेशमा तीनजना मन्त्री रहेका कारण अब मधेस प्रदेशको विकास अभियान पहिले सरह गरिने आश्वासन दिए । एमालेका मन्त्रीहरूले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओली नेतृत्व सरकारको पालामा शुरू भएको मधेसको विकास केन्द्रित अभियानलाई अगाडि बढाउने बताए ।

उनले मधेसबाट कृषि, भौतिक पूर्वाधार र रक्षामन्त्री भएको हुँदा यहाँको जनताले कृषिमा भोग्दै आएको मल, बीउबिजनको समस्या अन्त्य गर्ने बताए । उनले मल कारखाना निर्माण गरिने तथा भौतिक पूर्वाधार निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइने दाबी गरे । रक्षा मन्त्रालय अन्तर्गतको काठमाडौं–तराई द्रुतमार्गमा अघिल्लो सरकारले गरेको आलटाललाई अन्त्य गर्दै समयमैं सम्पन्न गर्नेगरी काम अघि बढाइएको बताए ।

नेता पोखरेलले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा मधेसले विकासको गति लिएको बारेमा जानकारी गराएका थिए । मधेसी दलले २० वर्षबाट गीत बनाउँदै आएको हुलाकी राजमार्ग निर्माणका निम्ति ओली सरकारको बेलामा २० अर्ब रकम लगानी गरेर मधेसको मुहार परिवर्तन गरिएको उनले दाबी गरे । एमाले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रूपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको र आगामी निर्वाचनमा थप शक्तिशाली र ऊर्जावान् पार्टी भएर अगाडि बढ्ने बताए ।

नेता पोखरेलले वर्तमान सरकार निर्माण हुनुको खास कारण रहेको बताउँदै एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको अघिल्लो गठबन्धन आफ्नै बोझले ढलेपछि अहिलेको सत्ता समीकरण बनेको बताए । देश विकास र समृद्धिका लागि काङ्ग्रेस बाधक बन्दा समस्या भएको र हिजो ओली प्रधानमन्त्री बन्दा अघि सारेका विकासका योजना पूरा गर्न पनि एमाले सरकारमा आउन जरुरी रहेको बताए । उनले वर्तमान सरकार फरक पार्टी र विचारबीचको गठबन्धन नभएको तर राष्ट्रिय आवश्यकता भएकोले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको बताए ।

एमाले बाराका अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले सचिव तथा उपप्रधानमन्त्री रघुवीर महासेठ, सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, कृषिमन्त्री एवं पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह, सुमन प्याकुरेल, रामदयाल मण्डल, अच्युत मैनाली, मधेस प्रदेश सचिव मनोज पौडेललगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अध्यानन्द पाण्डेले गरेका थिए ।

निर्वाचन हुने सम्भावना बढी
एमाले बाराको ११औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना बढेको छ । हिजो अधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएपछि शुरू भएको नयाँ नेतृत्व चयनका लागि थुप्रै आकाङ्क्षी देखिएपछि निर्वाचन गराउने तयारी भएको एमालेका एकजना नेताले बताए । मङ्गलवारसम्म अध्यक्षका लागि तीनजनाको नाम चर्चामा आएको र तीनैजनामध्ये एकजनाले नउठ्ने जनाएपछि बुधवार निर्वाचन हुने बताए । एमाले बारामा ७३५ जना मतदाता छन् भने १२५ सदस्यीय जिल्ला कमिटी निर्माण हुने बताइएको छ ।

भोलि हुने निर्वाचनमा अध्यानन्द पाण्डे र टीना सुवेदी दुई प्यानलसहित चुनावमा देखिने ती नेताले बताए । जिल्ला कार्यसमितिमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, सहसचिव दुई (एकजना महिला) र बाँकी १२० जना सदस्य रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here