प्रस, परवानीपुर, २९ फागुन/
आगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब, परवानीपुरले जनाएको छ ।
मङ्गलवार नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा बाग्मती र मधेस प्रदेश अन्तर्गतका आठवटा टीम सहभागी हुने जनाएको छ ।
करीब रु १७ लाखको लागतमा हुने प्रतियोगितामा वीरगंज महानगरपालिका र परवानीपुर गाउँँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए ।
उनका अनुसार फूटबल प्रतियोगिताको लागि विभिन्न संस्थाहरू सहयोग गर्न तयार भएका र आयोजक क्लबका सदस्यहरूले पनि सहयोग गरिरहेको बताए ।
प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड एफसी, हनामी भरतपुर फूटबल क्लब चितवन, वीरगंज युथ एकेडेमी, हेटौंडा फूटबल एकेडेमी मकवानपुर, नवजनजागृति युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फूटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दीपक यादवले बताए ।
यस्तै, प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुर्ई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजारसहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।
त्यस्तै, प्रतियोगितामा खेलाडीहरूको लागि विभिन्न विधामा विधागत पुरस्कार पनि राखिएको उनले बताए ।
आयोजक क्लबका अध्यक्ष राजमहमद मियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव ध्रुवप्रसाद साह, कोषाध्यक्ष सोनालाल मण्डल, टीम म्यानेजर सञ्जय मण्डल, सदस्यहरू रविराजा राम, रामप्रवेश कुशवाहालगायतको सहभागिता थियो ।