प्रस, वीरगंज, २० मङ्सिर/
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन)बाराले बुधवार कलैयामा विरोध प्रदर्शन गरेको छ ।
कात्तिक १३ गते बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापक कलैया नपा–६ निवासी रूपेश सर्राफको गोली प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न व्यक्तिहरूमध्ये केहीलाई प्रहरीले सार्वजनिक गरे पनि परिवार तथा विभिन्न संस्थाले विरोध गर्दै आएका छन् । दोषीलाई उम्काएको र निर्दोषलाई फसाएको भन्दै सर्राफ परिवार र विभिन्न संस्थाले विरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
हत्यामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको, घटनालाई सामसुम पारेको तथा चरित्र हत्या गरेको भन्दै विभिन्न संस्थाले विज्ञप्ति निकाली प्रहरीको अनुसन्धानप्रति प्रश्न गर्दै आएका छन् ।
विरोध प्रदर्शनपछि भरतचोकमा विरोधसभा भएको थियो । विरोधसभामा सहभागीहरूले घटना भएको दिन प्रमुख जिल्ला अधिकारीले दिएको सार्वजनिक वक्तव्य तथा प्रहरी उपरीक्षकले सार्वजनिक गरेको घटनाको यथार्थ विवरण फरक भेटिएकाले तत्काल सच्याइ दोषीलाई कारबाईको माग गरेका छन् ।
विरोधसभामा एन–प्याब्सन, बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले विद्यालयकै शिक्षकलाई फसाउनु र दोषीलाई उन्मुक्ति दिनु गलत भएको उल्लेख छ । घटना भएको ३७ दिन बितिसक्दा पनि प्रहरीले वास्तविक दोषीलाई पक्राउ गर्न नसकेको आरोप लगाइएको छ । प्रहरीले तत्काल दोषीलाई पक्राउ नगरे सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।