प्रस, बिरुवागुठी, २४ मङ्सिर/
पर्सागढी युवा समाज तदर्थ समितिको प्रथम साधारणसभा पर्सागढी नगरपालिका–१ स्थित कोइलाभारमाई मन्दिर प्राङ्गणमा शनिवार सम्पन्न भएको छ ।
तदर्थ समितिका अध्यक्ष राजेश्वरप्रसाद चौधरीको अध्यक्षतामा हिजो शनिवार भएको प्रथम साधारणसभाको नगरप्रमुख गोकर्ण पाठकले उद्घाटन गरेका थिए । उनले पर्सागढी युवा समाजले नगरको विकासमा दिने सल्लाह–सुझाव सधैं मनन गरेर अघि बढ्ने बताए । उनले नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक पालिकाले नियुक्त गरेर शिक्षक समस्या केही हदसम्म न्यूनीकरण भएको र विद्यालयमा रहेका विकृति, विसङ्गति हटाउन पालिका लागिपरेको बताए ।
उद्घाटन सत्रमा वडाध्यक्ष राजकपूर खवास थारू, पूर्ववडाध्यक्ष वेदमन दास थारू, सत्यनारायण दास थारू, महन्त दास थारू, योगेन्द्र चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
युवा समाजको हिजो साँझ सम्पन्न बन्दसत्रले राजेश्वरप्रसाद चौधरीकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष राजकुमार महतो, सचिव अमितप्रसाद चौधरी, कोषाध्यक्ष रामचन्द्र दास थारू, सहसचिव महन्तप्रसाद दास र सदस्यहरूमा नन्दन प्रसाद, नवलकिशोर दास, रोमाकुमारी दास, बिन्दुदेवी थरुनी, नन्दरानी चौधरी, असियादेवी दास छन् ।