प्रस, पोखरिया, १० भदौ/
पोखरिया नगरपालिका स्वास्थ्य शाखाले निषेधाज्ञाको समयमा दुई दिने गोष्ठी ५ मिनेटमा सम्पन्न गरी रु १ लाख १ हजार कुम्ल्याएको छ।
निषेधाज्ञामा भेला, सभा, सम्मेलन, गोष्ठी, समारोह गर्न निषेध छ तर पोखरिया नपा स्वास्थ्य शाखाले सङ्क्रमण नियन्त्रण कार्यशाला गोष्ठी पोखरिया अस्पतालको सभाहलमा आयोजना गरेको देखाएर सोबापतको रु १ लाख १ हजार कुम्ल्याएको छ। पोखरिया अस्पतालमा हाल सङ्क्रमितहरू छन्। अस्पतालका १६ जना र बाहिरका २६ जना गरी सङ्क्रमितहरू आइसोलेट छन्। महामारी र निषेधाज्ञाको बेला तथा आइसोलेशन सञ्चालन भएको अवस्थामा पोखरिया नपा स्वास्थ्य शाखाले दुई दिने सङ्क्रमण नियन्त्रण कार्यशाला गोष्ठी गरेको हो।
मङ्गलवार दिउँसो स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र १४–१५ जनासहित अस्पतालको सभाहलमा पुगे र त्यहाँ सङ्क्रमण नियन्त्रण कार्यशाला गोष्ठीको ब्यानर झुन्ड्याए अनि सहभागीहरूको फोटो खिंचेर फर्किए। यो काम कुल ५ मिनेटमा सम्पन्न भयो। दोस्रो दिनको गोष्ठीको समय बुधवार ११ बजे तोकिएको थियो। तर दिउँसो २ बजेसम्म कार्यक्रम भएन। सहभागी एकजनाले मङ्गलवार नै दुई दिने गोष्ठीमा सहभागी भएको भनी हस्ताक्षर गराएर प्रतिव्यक्ति रु ७ सय भत्ता बुझेको बताए।
चालीसजना सहभागी गर्नुपर्ने कार्यक्रममा अस्पताल सङ्क्रमित क्षेत्र भएकोले बाहिरका मानिसहरू जान नमानेपछि त्यहींका मानिसहरूलाई सहभागी गराइएको थियो। उद्घाटन पनि भएन, कसैले मन्तव्य पनि दिएनन्। सहभागीहरूलाई पनि केको लागि आएको भन्ने थाहा पनि भएन। उनीहरूले गोष्ठीमा सहभागी भएको कागजमा हस्ताक्षर गरे र रु ७ सय बुझिलिए।