राधेश्याम पटेल, वीरगंज, २६ साउन/
वीरगंजमा समुदायस्तरमा पैmलिएको कोरोना महामारीको कारण वीरगंज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योग विगत दुई सातादेखि बन्द छन् । साना तथा मझौला गरी करीब १२ सय उद्योगमध्ये पर्सा र बारामा मुस्किलले २०–२५ वटा उद्योग सञ्चालनमा रहेको वीरगंजका उद्योगीहरूले बताएका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले खाद्यान्न, औषधि, फलामजन्य उद्योगबाहेक सबै बन्द रहेको बताए । परवानीपुरस्थित बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालिको उत्पादन पनि ठप्प छ । सूर्य नेपाल र डाबर नेपाल प्रालि पनि आंशिक चलेको उनले बताए । “अत्यावश्यक उद्योगमा पनि केही औषधि र फलामजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योगका मजदूरमा कोरोना निस्केपछि उद्योग व्यवस्थापन पक्ष निकै डराएको छ,” उनले भने, “त्यसमा थप अनेकन समस्या छन्, जसले गर्दा उद्योग चलाउन सक्ने अवस्था छैन ।”
वीरगंजका अर्का उद्योगी एवं सङ्घका सचिव माधव राजपालले उद्योग सञ्चालन गर्न सबैभन्दा आवश्यक सेवा दिने बैंक हो, बैंक नै बन्द रहेको अवस्थामा उद्योगको कच्चा पदार्थ भन्सारमा थन्केका छन्, मजदूर उद्योगमा बस्न मान्दैनन्, कसरी उद्योग चलाउने भनी प्रश्न गर्छन् । उनले बैंकले आवश्यक सतर्कता अँगालेर जसरी पनि नियमित सेवा दिनुपर्ने बताए ।
“वीरगंजका उद्योगी तथा सर्वसाधारणलाई सानो रकम पनि झिक्न हेटौंडासम्म पुग्नुपरेको छ,” उनले भने, “जसको एटिएम छैन, उसले कसरी रोजीरोटी चलाउने ? औद्योगिक र व्यापारिक प्रयोजनको काम बैंकले मूलगेटबाटै गर्दा पनि हुन्छ ।” उनले एलसी, चेक क्लियरिङलगायतका काम र सर्वसाधारणको पैसा बैंकमा होल्ड गरी महामारीमा झन् पीडा दिने अधिकार नभएकोले तत्काल सरोकारवाला निकायलाई पहल गर्न आग्रह गरे ।