प्रस, वीरगंज, १२ जेठ/
मुस्लिम समुदायले आज ईद–उल–फित्र पर्व धूमधामका साथ मनाएको छ । प्रत्येक वर्षको ईद भने कोरोना भाइरसको सङ्क्रमण र लकडाउनको कारण परम्परागतरूपमा मनाइएन। सङ्क्रमण नफैलिओस् भनेर मुस्लिम समुदायले घरमैं बसेर पर्व मनाए।
यस वर्ष लकडाउन अवधिमैं रमजान शुरू भई लकडाउन अवधिमैं समापन पनि भएकोले सबैले घरमा बसेर समापनको नमाज पढी पर्व मनाएको मदिना जामे मस्जिद लाठगल्ली वीरगंजका अध्यक्ष हाजी लालबाबू शेखले बताए। उनले यस वर्ष रमजानको एक महीना घरमैं बसेर व्रत बसेको र आज पनि रमजानको अन्तिम नमाज घरमैं पढेको बताए।
यस वर्ष रमजानको नमाज सङ्क्रमण फैलन सक्ने त्रासले मस्जिदमा नपढेको उनले बताए। मुस्लिम समुदायमा रमजानको अन्तिम नमाज पढेर दूधको परिकार सेवई खाने र खुवाउने प्रचलन छ।
आजको दिन मुस्लिम समुदायले नयाँ लुगा लगाएर एकापसमा सबै रिसराग त्यागी अङ्कमाल गरेर सद्भाव र मित्रताको परिचय दिने गरिएकोमा कोरोना सङ्क्रमणको कारण त्यसो नभएको जनाइएको छ। सबैले सामाजिक दूरी बनाएर पर्व मनाएको हाजी शेखले प्रतीकलाई बताए। पर्सा जिल्लामा करीब सयवटा मस्जिद छन्। लकडाउन शुरू भएपछि मस्जिदहरू बन्द गरिएका छन्।
यसैबीच, वीरगंज महानगरपालिकाका केही वडामा २०/२५ जना भेला भएर घरमा सामूहिक नमाज पढिएको समाचार पनि छ। फराकिलो ठाउँ भएको घरको छतमा बसेर आज सामूहिक नमाज पढिएको बताइएको छ ।
Share
Read more