नैतिक भ्रष्टाचार

120

    बलात्कारको झूटो मुद्दामा अरूलाई फसाउन खोजेको अभियोगमा एकजना किशोरीसहित तीनजना महिला पक्राउ परेको घटना सार्वजनिक भएको छ। एक १७ वर्षीया किशोरीले आफू बलात्कृत भएको नाटक गर्दै अरूलाई दोषारोपण गरेकी थिइन्। नाटकको निर्देशकमा अर्की दुईजना महिला देखिए। लगानीकर्ता अर्कै एक पुरुष थिए। उनले आफ्नो प्रतिद्वन्द्वीलाई फसाउन झूटो मुद्दा बनाउन लगाएका थिए। सोबापत उनले ६ लाख रुपैयाँ खर्चेएका थिए। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गर्दा पीडित भनिएको पक्ष नै पीडक देखियो। कसैको चरित्र हत्या गर्न खोज्नु गम्भीर प्रकृतिको नैतिकताहीन कार्य हो। ‘९९ जना दोषी छुटोस् तर एकजना निर्दोष नफसोस्’ न्यायको सामान्य सिद्धान्त हो। यही सिद्धान्तको आधारमा जिप्रका रौतहटले सत्यतथ्य छानबिन गर्दा वास्तविकता उजागर भयो। प्रहरीमा मुद्दा पर्ने बित्तिकै दर्ता गरिदिएन वा आरोपितलाई पक्राउ गरिएन भन्ने गुनासाहरू पनि धेरै आइरहेका छन्। यही गुनासोलाई मान्ने र उजूरी पर्ने बित्तिकै समातेर सार्वजनिक गरिएको भए निर्दोष व्यक्तिले दुःख पाउनुका साथै उसको मानमर्दन हुने थियो। सामूहिक बलात्कारको आरोप हो। प्रहरीले समातेर लाने बित्तिकै समाजमा हेर्ने तरीका नै फरक पर्छ। तर प्रहरीले आरोपितलाई पक्राउ गर्नुभन्दा पनि निगरानीमा राखेर उजूरी माथि नै यकीन हुने प्रयास ग–यो। प्रहरीले जुन बुद्धिमत्ता र जिम्मेवारीको साथ काम ग–यो त्यो प्रशंसायोग्य छ।
    एकजना किशोरी रातारात रुँदै कराउँदै आएर आफू बलात्कृत भएको प्रहरीमा जाहेरी गर्दा नपत्याउने शायदै कोही होला। त्यसमा पनि लैङ्गिक विभेदपूर्ण समाजमा छोरी जातिले आफ्नो इज्जत लुटिएको कुरा खुलेर बताउन सक्दैनन्। आफ्नो अस्मिताको खिल्ली उडाउँदै लुटिएको नाटक गर्छन्  भनेर अनुमान लगाउन सकिंदैन। यसर्थ पनि महिलालाई न्यायमा सहज पहुँच दिनका लागि पर्याप्त प्रयासहरू भइरहेका छन्। तर केही नारी कलङ्क देखिए। उनीहरूले कानूनी पहुँचको सहज बाटो र मानवीय संवेदनालाई दुरुपयोग गरेर नैतिक भ्रष्टाचार गर्न उद्धत देखिए। रौतहटकै जस्तो घटना समाजमा धेरै भइरहेका होलान्। आरोपपछि निर्दोष साबित भएकाहरू पनि छन्। तर त्यस अवधिमा उसले धेरै अपमान साथै आर्थिक र मानसिक यातनाहरू भोगिसकेको हुन्छ।
    सार्वजनिक जीवनमा स्वीकृत मूल्यविपरीतका आचरणलाई भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार मानिन्छ। साधारण जनजीवनमा यो आर्थिक अपराधसँग अर्थात् गैरकानूनी धनसँग  जोडिएको हुन्छ। भ्रष्टाचारका विभिन्न रूप छन्– आर्थिक भ्रष्टाचार, राजनीतिक भ्रष्टाचार, नैतिक तथा सामाजिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार आदि। यीमध्ये नैतिक तथा सामाजिक भ्रष्टाचार सबै भ्रष्टाचारको जड हो। जब मानिसलाई आफ्नो  नैतिकता र सामाजिक मूल्य–मान्यताको ख्याल हुँदैन, तब त्यहींबाट भ्रष्टाचार शुरू हुन्छ। बिस्तारै उनीहरू कुनै पनि रूपको भ्रष्टाचार गर्न पछि पर्दैनन्, केवल मौका वा अवसरको तलाशमा हुन्छन्। आज नेपाली समाज उपभोगवादी चिन्तनको शिकार भएको छ। छिट्टै र जसरी पनि पैसा तान्ने चाहना मौलाएको छ। समाजले भ्रष्टाचारजन्य गतिविधिलाई  मूकदर्शक बनेर सामाजिक मान्यता प्रदान गरेको अवस्था छ। अब समाज र कानून कार्यान्वयनका एकाइले जुनसुकै किसिमको भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्