लकडाउनमा स्थगित बिहे धमाधम हुँदै

121

प्रस, सेढवा, २६ मङ्सिर/
कोरोना सङ्क्रमणको कारण गत वर्षको चैत ११ गतेदेखि लागेको लकडाउन र निषेधाज्ञाको समयमा स्थगित वैवाहिक कार्यक्रम यही मङ्सिर महीनामा धमाधम भइरहेको छ ।
लकडाउन, निषेधाज्ञाले वैशाखदेखि हुने वैवाहिक कार्यक्रम प्रभावित भएका थिए । यो वर्षको यसै मङ्सिर महीनामा मात्र वैवाहिक कार्यक्रमका लागि साइत भएकोले लकडाउन अवधिमा हुन नसकेका र अहिले विवाह तय भएकाहरूको एकसाथ वैवाहिक कार्यक्रम आयोजना हुँदा चारैतिर विवाहको धूम चलेको हो ।
यस वर्ष मङ्सिर महीनापछि विवाहको साइत नभएकोले लकडाउनका कारण गत वैशाख महीनामा रद्द भएको विवाह जीराभवानी गाउँपालिका–३ सेढवा निवासी धर्मेन्द्रदास थारूले दुईजना भाइको विवाह अहिले सम्पन्न गरेका छन् । उनका दुईजना भाइको बिहे गत वैशाख १३ र १४ गते तय भएको थियो ।
विवाहका लागि निमन्त्रण कार्ड वितरण गरेको र अन्य तयारी पनि गरेका उनले लकडाउन नहटेपछि त्यतिखेर विवाह स्थगन गरेका थिए । उनले मङ्सिरपछि विवाहको साइत नभएकोले हतारमा विवाह सम्पन्न गरेको बताए । उनीसँगै थुप्रैले लकडाउन, निषेधाज्ञामा रद्द भएको वैवाहिक कार्यक्रम यसै महीना सम्पन्न गरेका छन् ।
यो वर्षमा विवाहको साइत नभएको र आगामी वर्षको पात्रो नआएकोले लामो समयसम्म वैवाहिक कार्यक्रम हुन नसक्ने देखेर गाउँ र शहरमा वैवाहिक कार्यक्रम ठूलो सङ्ख्यामा भइरहेको पुरोहितहरूले बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्