पुजारी हत्यामा लेनदेनको विषय निराधार –परिवारजन

148

प्रस, गरुडा, २१ भदौ/
    रौतहटको माधवनारायण नपा–२ खेसरहियामा भदौको पहिलो हप्तामा भएको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको कारण लेनदेनसम्बन्धी विवाद रहेको विषयलाई परिवारजनले अस्वीकार गरेका छन्। पुजारी हत्याकाण्डको अनुसन्धानको क्रममा गत हप्ता प्रहरीले दुईजनालाई पक्राउ गरिसकेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकामध्ये रामनरेश पटेलसित पुजारीको लेनदेन विवाद रहेको सार्वजनिक भएपछि पुजारीका आफन्तहरूले खण्डन गरेका हुन्।
    पुजारीका भाइ लालबहादुर साह, भतिजी रिङ्कुकुमारी साह तथा भतिजा अजयकुमार साहलगायतले पुजारीसित लेनदेनको विवाद कोहीसित नभएको स्पष्ट पार्दै यताउतिबाट मागेर वा चन्दा उठाएर दैनिक गुजारा चलाउनेले लगानी गर्ने कुरामा सत्यता नभएको बताएका छन्।
    हाटबजारको दिन पुजारी साहले तरकारी पसलेसित तरकारी उठाएर तथा मन्दिरमा कसैले चढाएको भेटीबाट गुजारा गर्ने गरेको बताउँदै पुजारीका भाइ लालबहादुर साहले आवश्यक पर्दा चामल पनि मागेरै गुजारा गर्ने साधुले लगानी कहाँबाट गर्नु ? प्रश्न गर्छन्। कहिले बजारको पसलबाट अगरबत्ती र लाइटर माग्ने त कहिले गाउँको पसल वा कुनै व्यक्तिसित मागेर पूजा गर्ने अवस्थाका पुजारीले लाखौं लगानी गरेको कुरामा आफूहरूलाई कुनै पत्यार नलागेको पुजारीकी भतिजी रिङ्कुकमारी साहको भनाइ छ।
    पुजारीका भतिजा अजयकुमार साहले पनि लेनदेनको विषय आफूहरूले कहिल्यै थाहा नपाएको बताउँदै कोहीसित विवाद भएकोसमेत आफूहरूलाई थाहा नभएको बताएका छन्।
    यता प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले मृतकका भाइ लालबहादुर साहले प्रहरीलाई दिएको जाहेरीमा रामनरेश पटेलका बुबाले पुजारीसित तीन लाख रुपैयाँ लिनुपर्ने उल्लेख गरेको र आरोपीले पनि स्वीकार गरिसकेकाले अन्य कतैबाट दबाबमा साहले त्यस्तो बोलेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
    हत्या हुनुभन्दा तीन दिन पहिले पुजारीसित रामनरेश पटेलको  झगडा भएको र पटेलले पुजारीलाई गोली हानेर हत्या गरेको तथा अर्का आरोपी बालकुमार पटेल सेन्ट्री बसेको डिआइजी सिंहको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्