रौतहटका थुनुवाको मृत्यु, हत्याको आरोप

182

प्रस, रौतहट, ११ भदौ/
    रौतहट प्रहरीको एकजना थुनुवाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटका २५ वर्षीय युवक विजयमहरा चमार रहेका छन्। उनको वीरगंज, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारीले ६ दिनदेखि अस्पतालमा भर्ना भएका युवकको दुवै मिर्गौला फेल भएर मृत्यु भएको दाबी गरेका छन्। उनको दुईपटक डायलासिस गरिएको र हिजो राति क्रिटाइन अचानक ९ पुग्दा मृत्यु भएको उनको भनाइ छ।
    रौतहट, गरुडा नगरपालिका–८ जिङडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको अभियोगमा रौतहट प्रहरीले विजयमहरा चमारसहित सातजनालाई पक्राउ गरेको थियो। गत साउन ३२ गते हत्या घटनामा उनलाई पक्राउ गरी अनुसन्धान भइराख्दा अचानक उनको स्वास्थ्य बिग्रेपछि उपचारको लागि वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए। पक्राउ परेका विजयमहरा चमार मिर्गौलारोगी थिए, उनको स्वास्थ्य अवस्था बिग्रेपछि वीरगंज पठाइएको थियो, उपचारको क्रममा मृत्यु भएको उनले बताए।
    उता, हत्याकाण्डमा प्रहरीले वास्तविक दोषीलाई पक्राउ नगरी निर्दाेष युवकहरूलाई फसाएको र विजय महरा चमारलाई कुटपीट गरी यातना दिएकोले मृत्यु भएको पिस फोर दलित फाउन्डेशन नेपाल, पर्साका अध्यक्ष मनोज रामले आरोप लगाएका छन्। उनले संस्थाका सदस्यहरूले मृतक रामसँग गरुडा प्रहरी हिरासतमा बुझ्दा प्रहरीले चरम यातना दिएको बताएका थिए।
    प्रहरीले यातना दिएर अभियोग स्वीकार गर्न दबाब दिएको रामले बताएका थिए। यसको भिडियो प्रमाण रहेको अध्यक्ष्F रामले बताएका छन्। घटनाको विरोधमा गरुडा प्रहरी कार्यालयमा दिउँसो रामका परिवारजन, आफन्त, शुभचिन्तकहरूले प्रदर्शन गरेका थिए। उनीहरूले हत्याको छानबीन गर्नुपर्ने, निष्पक्ष पोस्टमार्टम गर्नुपर्ने भन्दै मिर्गौला फेल भएर मृत्यु भएको दाबी झूटो भएको बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्