कोरोनाको कारण अदालतको सेवा बन्द

213

प्रस, जनकपुरधाम, १० भदौ/
प्रदेश नं २ उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा र महोत्तरी जिल्ला अदालतको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द भएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि अदालतको सेवा बन्द गरिएको हो।
उच्च अदालत जनकपुरधाम, सरकारी वकीलको कार्यालयका कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि सेवा बन्द गर्नुपरेको हो। अत्यावश्यकबाहेक सम्पूर्ण सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उच्च अदालत जनकपुरधामले जनाएको छ।
केही साता पहिले उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सोलगत्तै सरकारी वकीलको कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको थियो। उच्च अदालत जनकपुर, सरकारी वकीलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरू सम्मिलित बैठकले सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरेको उच्च अदालतले जनाएको छ। अदालत बन्द भनिएको अवधिमा पनि अति आवश्यक सेवा भने उपलब्ध गराउने निर्णय भएको छ। सो अनुसार उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीले थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालअधिकारसम्बन्धी निवेदन, महामारीसम्बन्धी निवेदन दर्ता र सुनुवाइ गर्ने जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्