जनजीवन सहज हुने गरी पर्सामा निषेधाज्ञा जारी

145

प्रस, वीरगंज, ६ असार/

पर्सा जिल्लामा निषेधाज्ञा असार १३ गते राति १२ बजेसम्मको लागि बढाइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साको आइतवार बसेको बैठकले असार १३ गतेसम्म पुनः एक साता निषेधाज्ञालाई निरन्तरता दिने सिफारिश गरेबमोजिम जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकार पीताम्बर घिमिरेले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई आठौंपटक थप गर्दै असार १३ गतेसम्म पुर्‍याएका हुन् । निषेधाज्ञा एक साताको लागि थप गरिए पनि यो अवधिमा जनजीवन सहज पारिएको छ ।

खाद्य, औषधी र स्वास्थ्यसम्बन्धी पसलहरू नियमित सञ्चालन गर्न पाउने भएपनि अन्य पसलहरू बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाउने निणर्य गरेको छ । यसअघि दिउँसो १२ बजेसम्म मात्र पसलहरू सञ्चालन गर्न दिने निणर्य भएको थियो ।

स्थानीय तह अनुसार आलोपालो मिलाएर मानिसको भीडभाड नहुनेगरी सरकारी, सार्वजनिक, निजी कार्यालय, निकायहरूले सेवाप्रवाह, कार्यालय सञ्चालन गर्ने गराउने र सोको उपयुक्त व्यवस्था सम्बन्धित कार्यालयका प्रमुखले मिलाउनुपर्ने व्यवस्था गरिएको छ ।

औषधोपचार, अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिंड्डुल गर्न पूर्ववत् निणर्य अनुसार रोक लगाइएको छ । सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाटबजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय सञ्चालनमा रोक कायमै छ ।

मालवाहक सवारीसाधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दानालगायत ढुवानीका सवारीसाधनहरू, आइसोलेशन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुनेगरी सवारीसाधनबाहेक अन्य सबै प्रकारका दुई पाङ्ग्रे (मोटरसाइकल, साइकल)बाहेक सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक यथावत् छ ।

विकास निर्माणका कार्यहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने, निर्माण सामग्रीको ढुवानी बेलुका ८ देखि बिहान ८ बजेसम्म गर्न पाइने, खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन गर्न नदिने जनाइएको छ ।

होटल एवं रेन्टुराँहरूलाई बिहान १० देखि साँझ ५ बजेसम्म खुला गर्न दिएको छ । यो अवधिमा होटल एवं रेस्टुराँ सञ्चालकले ग्राहकलाई सामान दिएर पठाउन सक्ने र होम डिलिभरी गर्न पाउने मात्र व्यवस्था गरिएको छ । बसाएर खानपिन गर्न निषेध गरिएको छ । उद्योग, कलकारखानाहरूले कर्मचारी एवं श्रमिकहरूलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी एवं स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उद्योग सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

वीरगंज मुख्य नाकाबाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्