वयोधा अस्पताललाई कोरोना परीक्षण गर्न रोक

179

आरके पटेल, वीरगंज, ५ भदौ/
    वीरगंजस्थित नारायणी वयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पिसिआर परीक्षण गरेको  खुलासा भएको छ।
    बितेको डेढ सातादेखि अस्पतालले सङ्कलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो। अनुमति नलिई स्वाब सङ्कलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ।
    प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बितेको मङ्गलवारदेखि स्वाब नमूना सङ्कलन र परीक्षणमा रोक लगाएको जानकारी दिएका छन्।
    वयोधा अस्पतालले गरेको परीक्षणको नतीजा र सङ्ख्याबारे कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्सालाई कुनै जानकारी नै नगराइएको केन्द्रका प्रतिनिधिहरूको भनाइ छ। केही पहिले वयोधा अस्पतालमा स्वाब नमूना दिएका ३५ जनामा सङ्क्रमण फेला परे पनि त्यसको तथ्याङ्क अस्पतालले जिल्लाका कुनै पनि आधिकारिक निकायमा नदिएको बताइएको छ।
    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशनमा प्रहरी लगाएर उक्त परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालय पर्साले मगाएको थियो। अस्पतालले अनुमतिविनै होटल दियालो लड्र्समा आइसोलेशन सञ्चालन गरेको नेपाल सरकारका पर्सास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन्। वयोधा अस्पतालको सो कार्यले सङ्क्रमितको यकीन तथ्याङ्क र व्यवस्थापनमा कठिनाइ भइरहेको प्रजिअ तामाड्ढो भनाइ छ।
    स्थानीय प्रशासनले रोक लगाएपछि अस्पताल प्रशासनले मङ्गलवार सूचना जारी गरी पिसिआर परीक्षण अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ।
    गत साउन २८ गतेदेखि वयोधा अस्पतालले स्वाब सङ्कलन शुरू गरेको थियो। अस्पतालले स्वाबको पिसिआर परीक्षणबापत ५ हजार ५ सय रुपैयाँ लिने गरेको थियो।
    कोरोनाको हटस्पट बनेको वीरगंजमा पिसिआर परीक्षणका लागि एकमात्र नारायणी अस्पतालको प्रयोगशाला छ। शुल्क तिरेर परीक्षण गराउँदा पनि नारायणीको प्रयोगशालाबाट रिपोर्ट आउन ढिला हुने गरेको छ। यसैबीचमा वयोधाले पिसिआर परीक्षण गर्ने जनाएपछि स्थानीय त्यहाँ जान थालेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्